राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सातादेखि कोरोना परीक्षण ठप्प
दाङको घोराहिस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला मार्फत दुई सातादेखि कोरोना परीक्षण हुनसकेको छैन। प्रतिष्ठानमा भएको रियल टाइम पीसीआर मेसिन मार्फत गएको २८ असारदेखि यता कोरोना परीक्षण हुन नसकेको हो।
प्रतिष्ठान मार्फत २८ असारसम्ममा १५ हजार ३ जनाको कोरोना परीक्षण भएको थियो। त्यसयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको दैनिक रिपोर्ट अनुसार प्रतिष्ठानमा कोरोना परीक्षणको काम हुन नसकेको देखिएको हो।
स्वास्थ्य सचिव लक्ष्मण अर्याल प्रतिष्ठान मार्फत दुई सातायता कोरोना परीक्षणको काम रोकिएको बारे जानकारि आएको बताउँछन्। “तर किन रोकिएको भन्ने बारेमा आधिकारिक जानकारी आएको छैन,” उनले भने।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी प्रतिष्ठान मार्फत दुई सातायता कोरोना परीक्षणको रिपोर्ट नआएको र त्यसबारे पटक–पटक पत्राचार गरेर जानकारी माग्दा जवाफ पनि नआएको बताउँछन्।
दाङको घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरी आफूहरूले ५० जनाको स्वाब नमूना कोरोना परीक्षणका लागि पठाएकोमा परीक्षण हुन नसकेपछि गएको चार साउनमा नेपालगञ्ज पठाउनु परेको बताउँछन्।
घोराही उप–महानगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत ठाकुर खनाल प्रतिष्ठानले स्वास्थ्य सामग्री र कर्मचारीको अभाव भएको बहाना देखाउँदै परीक्षण नगरेको बताउँछन्।
“प्रतिष्ठानका उपकुलपति र रजिष्टारले हामीले भनेको कुरा सुन्दैनन्” खनाल भन्छन्, “अन्य कर्मचारीसँग छलफल गर्दा उहाँहरूले जाँच्न नसक्ने भनेपछि स्वाबलाई भेरी अस्पताल पठायौँ।”
उनका अनुसार अहिले भेरी अस्पताल मार्फत ५० जनाको स्वाबको कोरोना परीक्षण हुँदैछ। सिनियर अहेब अधिकृत ठाकुर प्रतिष्ठानले कोरोना परीक्षणको काम रोकेका कारण अहिले घोराही उप–महानगरपालिकाबाट थप स्वाब संकलनको काम हुन नसकेको बताउँछन्।
प्रतिष्ठानले प्रयोगशालामा काम गर्ने दुई कर्मचारीले परीक्षणको काम प्रभावकारी रुपमा अघि बढ्न नसकेको भन्दै असन्तुष्टि पोखेपछि उनीहरूलाई २२ असारमा सेवाबाट निलम्बन गरेको थियो।
उनीहरूले असन्तुष्टि पोखेको दुई दिनपछि प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रसाद देवले पत्र पठाएर शर्मा र पौडेललाई पदबाट निलम्बन गरेको जानकारी गराएका थिए।
गएको २० असारमा अमेरिका–नेपाल मेडिकल फाउन्डेसनले नेपालमा कोभिड–१९ परीक्षणको चुनौतीबारे आयोजना गरेको वेबिनार मार्फत बायोकेमिष्ट विनीतकुमार शर्माले प्रयोगशालामा स्वतन्त्र रुपमा काम गर्न नपाएको, प्रतिष्ठानका पदाधिकारीले निलम्बन गर्ने धम्की दिने गरेको, डाइरेक्ट पीसीआर रोकेको र मानसिक दबाब दिएको भन्दै असन्तुष्टि पोखेका थिए।
छलफलमा प्रतिष्ठानका तर्फबाट माइक्रोबायोलोजिष्ट सुनिल पौडेल पनि सहभागी थिए। प्रतिष्ठानको प्रयोगशालामा पहिले सात जना कर्मचारी कार्यरत रहेकामा अहिले एक जना माइक्रोबायोलोजिष्ट सहित पाँच जना कर्मचारी कार्यरत छन्।
यस्तै स्वास्थ्य मन्त्रालयले एक महीनाअघि नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षण गर्ने प्रयोगशालाका लागि चाहिने स्वास्थ्य सामग्री र कर्मचारीका लागि चाहिने भत्ता स्वरुप कुल रु.५० लाख रकम पठाइसकेको छ।
यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. सागर पन्थी क्षेत्री दुई साताअघि स्वास्थ्य मन्त्रालयले पठाएको निर्देशिका अनुसार क्वारेन्टिनमा बसेका तर लक्षण नदेखिएका व्यक्तिको कोरोना परीक्षण नगर्ने भनेका कारण परीक्षणको काम हुन नसकेको बताउँछन्।
अस्पताल निर्देशक डा. क्षेत्री निर्देशिका अनुसार कोरोना परीक्षण गर्न नपाएका कारण मौज्दात रि–एजेन्ट पनि खेर जाने अवस्थामा रहेको बताउँछन्।
“कोरोना जाँच्न भन्दै दैनिक मानिसहरू आइरहेका छन्” उनी भन्छन्, “तर उनीहरू मन्त्रालयको निर्देशिका अनुसार परीक्षण गर्न योग्य नभएकाले कोरोना जाँच नगरेका हौँ।”