काभ्रेमा प्रहरी र विप्लवका कार्यकर्ताबीच 'फायरिङ', दुई गिरफ्तार
काभ्रेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भएको गोली हानाहान पछि प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।
रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा ६ फागुनको साँझ ‘सर्च’मा गएको प्रहरी टोली संग गोली हानाहान भएपछि प्रहरीले दुई व्यक्तिलाई गिरफ्तार गरेको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीलाई लक्षित गरी ‘विप्लव’का कार्यकर्ताले गोली प्रहार गर्दा जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्ष रविराज खड्काले बताए । “प्रहरी टोलीलक्षित गोली प्रहार हुँदा जवाफी फायरिङ मात्रै गरिएको हो, मानवीय क्षति/हताहती केही भएको छैन ”, उनले भने ।
जवाफी फायरिङपछि भाग्ने क्रममा माओवादीका दुई कार्यकर्ता गिरफ्तार गरी प्रहरी टोली फर्किएको प्रहरी उपरीक्षक खड्काले बताए । । उनका अनुसार गिरफ्तार गरिएका व्यक्तिको पहिचान खुलाइएको छैन ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले काफलडाँडाको स्थिति सामान्य रहेको बताए । “सो स्थानमा केही दिनदेखि गतिविधि बढेको पाइएपछि सुराकीका आधारमा महाशाखाबाट प्रहरी टोली गएको र दुई जनालाई गिरफ्तार गरी फर्किएको हो, अहिले त्यहाँको स्थिति सामान्य छ ”, उनले भने ।