प्रिमियर लिगमा आज अन्तिम खेल, च्याम्पियन्स लिग पुग्न रोचक प्रतिस्पर्धा
इंग्लिस प्रिमियर लिगको अन्तिम खेल आज हुँदैछ। आज हुने दश वटै खेल एउटै समय ८ः४५ बजे शुरु हुनेछन्।
यो सिजनको लिग उपाधि लिभरपुलले जितिसकेको छ। आज हुने अन्तिम खेल भने लिग उपाधि भन्दा अर्को वर्ष हुने यूरोपेली च्याम्पियन्स लिगमा छनोटका लागि रोचक हुनेछ।
प्रिमियर लिगका शीर्ष चार टोली च्याम्पियन्स लिगका लागि छनोट हुन्छन्। विजेता लिभरपुल र दोस्रो स्थानको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरिसकेका छन्।
शीर्ष चारभित्र पर्न म्यानचेस्टर युनाइटेड, चेल्सी र लेस्टर सिटीबीच तीब्र प्रतिस्पर्धा छ । तेस्रो स्थानको युनाइटेड र चौंथो स्थानको चेल्सीको समान ६३ अंक छ भने पाँचौं स्थानको लेस्टरको ६२ अंक छ। युनाइटेड र लेस्टर गोल अन्तरका आधारमा चेल्सीभन्दा सुविधाजनक स्थितिमा छन्।
आज हुने युनाइटेड र लेस्टरबीचको खेल सबभन्दा रोचक हुनेछ।
यो खेलमा युनाइटेडले जित हात पारे लेस्टर च्याम्पियन्स लिगमा छनोट हुने दौडबाट बाहिरिनेछ। त्यो अवस्थामा अहिले चौथो स्थानमा रहेको चेल्सी आफ्नो खेल हार्दा पनि स्वतः च्याम्पियन्स लिगमा छनोट हुनेछ।
त्यसकारण आजको खेलमा लेस्टरका लागि जित वा बराबरी खेल्नुको विकल्प छैन। युनाइटेडका लागि पनि कम्तीमा एक अंक पर्याप्त हुनेछ।
चेल्सीले छैटौं स्थानमा रहेको उल्भरह्याम्टनसँग खेल्दैछ। चेल्सी पराजित भएमा तथा युनाइटेड र लेस्टरबीचको खेल बराबरी भएमा चाहिँ चेल्सी च्याम्पियन्स लिगको दौडबाट बाहिरिनेछ।
च्याम्पियन्स लिगमा छनोट हुने खेल जस्तै रेलिगेसनबाट जोगिन अंक तालिकाको अन्तिममा रहेका टीमहरुबीच पनि कडा प्रतिस्पर्धा हुनेछ। रेलिगेसनबाट बच्न पुछारका टिमहरु एस्टन भिल्ला, वाटफोर्ड र वर्नमाउथ संघर्षरत छन्।