पूर्वी चितवनमा भरपर्दो विद्युत् आपूर्तिका लागि १३२ केभीको सबस्टेशन निर्माण
चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेशन निर्माण गरिएको छ।
हेटौंडा–भरतपुर १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई चितवनको पूर्वी क्षेत्रमा आपूर्ति गर्न यो सबस्टेशन निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार, हेटौंडा-भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको छ।
"सबस्टेशन स्वचालित प्रणालीमा संचालन गरी ११ केभी फिडरबाट एक साताभित्र विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको छ", घिसिङले भने । सबस्टेशन संचालनमा आएपछि प्राविधिक चुहावट करीब ४/५ प्रतिशत घट्ने, ग्राहकले भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीयाममा लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने उनले बताए।
अहिले चितवनको पूर्वी क्षेत्रमा भरतपुरमा रहेको १३२ केभी सबस्टेशनबाट करीब २१ किलोमिटर ३३/११ केभी चैनपुर सबस्टेशन मार्फत विद्युत् आपूर्ति भइरहेको छ । लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र प्राविधिक चुहावटको समस्या थियो । पूर्वी चितवन सबस्टेशनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सबस्टेसनको लोड पनि काम हुनेछ।
नेपाल सरकारको लगानीमा राप्ती नगरपालिका–६ हर्दीमा सबस्टेशनको निर्माण भएको हो । आर्थिक वर्ष २०७२/७३ मा शुरु गरी निर्माण गरिएको आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । गएको चैतभित्रै संचालन गर्ने लक्ष्य राखिएको सबस्टेशनको निर्माण कोरोनाभाइरस महामारीका कारण प्रभावित हुँदा केही ढिला भएको हो।
स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सबस्टेशनसम्म करीब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण गरिएको छ।