पहिरोमा स्काभेटर, टिपर र ट्याक्टर पुरिए, दुई चालक बेपत्ता
बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुर्दा दुई जना चालक बेपत्ता भएका छन्।
शनिबार राति ८ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ।
ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी पहिरो खसेको थियो। त्यसमा ध१च ४७ नम्बरको ट्याक्टर र ग१ख ४६३७ नम्बरको टिपर र अर्को एक स्काभेटर पुरिएका थिए। स्काभेटरको नम्बर खुलेको छैन।
“त्यहाँ पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा थप पहिरो खसेको पाइएको छ”, प्रहरी निरीक्षक रिजालले भने।
पहिरा गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो।निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन नसकेको बताइएको छ।
सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए। अहिले बिहानैदेखि उद्धार जारी रहेको प्रहरीले जनाएको छ।
घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरामै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए। पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ।