स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका संक्रमित व्यक्ति खोज्न शनिबारदेखि ‘इन्ट्री पोइन्ट टेष्ट’ शुरु गरेको छ।
उपत्यका भित्रिने भक्तपुरको साँगा, काठमाडौंको थानकोट र दक्षिणकालीबाट एक हप्ताभित्र १० हजार जनाको कोरोना परीक्षण गर्ने गरी ‘इन्ट्री पोइन्ट टेष्ट’ शुरु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका भित्रिने मुख्य नाकाहरुमा यात्रुहरुको कोरोना परीक्षण गर्न ‘इन्ट्री पोइन्ट टेष्ट’ शुरु गरेको बताएका छन्।
डा. गौतमका अनुसार बढीमा एक हप्ता वा त्यो भन्दा पनि छिटो उपत्यका भित्रिने १० हजार जनाको स्वाब संकलन गर्ने लक्ष्य राखेर कोरोना परीक्षण गर्ने काम शुरु भइसकेको छ।
मन्त्रालयको हेल्थ इर्मेजेन्सी तथा अपरेशन सेन्टरका प्रमुख डा. गुणराज लोहनीले हिमालखबरसँग कुरा गर्दै शनिबार मात्र उपत्यका भित्रिने थानकोट र दक्षिणकाली नाकाबाट करीब पाँच सय स्वाबको नमूना संकलन भइसकेको बताएका छन्।
डा. लोहनीका अनुसार आइतबारदेखि काठमाडौं भित्रिने मुख्य नाकाबाट स्वाब संकलन गर्ने दर अझ बढाइने छ। शनिबार मन्त्रालयबाट खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले काठमाडौं भित्रिने यात्रुको नाकबाट स्वाबको नमूना संकलन गरेका थिए।
उनीहरुले संकलन गरेको स्वाब कोरोना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला(एनपीएचएल) पठाइसकिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारदेखि संकलन गरिने स्वाबलाई एनपीएचएलबाहेक वीर अस्पताल, महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल लगायतका प्रयोगशालामा भएका रियल टाइम पीसीआर मेसिन मार्फत कोरोना जाँच गरिनेछ।
नाकबाट लिइएको नमूनाबाट संक्रमित व्यक्तिमा कोरोना भाइरस भए वा नभएको बारे ६६ प्रतिशतसम्म पत्ता लाग्ने सम्भावना रहन्छ । तर मुखबाट लिइएको स्वाबको नमूनाबाट संक्रमित व्यक्तिमा कोरोना भए वा नभएको बारे ३० देखि ३५ प्रतिशतसम्म पत्ता लाग्ने सम्भावना रहने भएकाले नाकबाट स्वाब संकलन गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन्।
स्वास्थ्य मन्त्रालयबाट खटिएको टोलीले स्वाब संकलन गरेपछि ती शंकास्पद व्यक्तिहरु नतिजा नआउँदासम्म अनिवार्य ‘होम क्वारेन्टिन’मा बस्नुपर्ने छ।
मन्त्रालयका अनुसार स्वाब संकलन गरेको २४ घण्टाभित्र नतिजा निकाल्ने गरी परीक्षणको काम हुँदैछ। काठमाडौं भित्रिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए तुरुन्त ‘कट्याक्ट ट्रेसिङ’को काम गर्ने तयारी भइरहेको छ । ‘कट्याक्ट ट्रेसिङ’मार्फत संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु खोज्ने काम गरिन्छ।
स्वास्थ्य मन्त्रालयका अनुसार तराईका प्रभावित जिल्लाबाट आउनेहरुको अनिवार्य र अन्य जिल्लाबाट आउनेहरुलाई प्राथमिकताका आधारमा कोरोना परीक्षण गरिने तय भएको छ ।
‘इन्ट्री पोइन्ट टेष्ट’का आधारमा आउने नतिजा अनुसार स्वास्थ्य मन्त्रालयले आवश्यक रणनीति तय गर्ने तयारी गरेको छ। मन्त्रालय एक अधिकारीले बन्दाबन्दी खुलेपछि बाहिरका जिल्लाबाट भित्रिनेहरुबाट उपत्यकामा कोरोना संक्रमणको जोखिम भए वा नभएको थाहा पाउन पनि ‘इन्ट्री पोइन्ट टेष्ट’ शुरु गरेको बताएका छन्।
यसअघि शंस्कापद व्यक्तिको स्वाब संकलन गर्ने काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(सीसीएमसी)को टोलीले गर्दै आएका थिए।
तर ती निकायबाट स्वाब संकलनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नै असन्तुष्ट बनेपछि अहिले मन्त्रालय अन्तर्गतको टोलीले कोरोना संक्रमित खोज्ने काममा जुटेको बताइएको छ।