एक वर्षमा सात सय ४७ किलोमिटर सडक कालोपत्रे
काठमाडौं – देशमा पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्रे भएको छ । नयाँ सडक र पुरानोको स्तरोन्नति गरेर सडक कालोपत्र सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।
राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाएको मन्त्रालयले मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर, नारायणगढ–मुग्लिन सडक ३२ किलोमिटर र मदन भण्डारी राजमार्गमा १२ किलोमिटर सडक कालोपत्र भएको जनाएको छ ।
एक वर्षमा एक हजार ११८ किलोमिटर सडक ग्राभेल ९खण्डस्मित० भएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा ९० किलोमिटर र मदन भण्डारी राजमार्गको धरान–चतरा–हेटौँडा खण्डमा १०३ किलोमिटरमा ग्राभेल सम्पन्न भएको छ ।
यस अवधिमा ७२१ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । “कालीगण्डकी करिडोर, कोशी सडक, हिल्सा सिमीकोटलगायतका ठाउँमा ट्र्याक खोल्ने काम भएको छ ”, मन्त्री महासेठले भने ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वरबाट नागढुङ्गा सडक आगामी एक महिनामा, चावहिलदेखि साँखु सडक आगामी दुई महिनामा सम्पन्न गर्ने मन्त्रालयले जनाएको छ ।
विगतका वर्षहरुमा भन्दा यो वर्ष झण्डै दोब्बर सडक, पुलको निर्माण सम्पन्न भएको उनले बताए । एक वर्षमा ४०–५० पुलको मात्रै निर्माण हुने गरेकामा यो वर्ष ९४ पुलको निर्माण सम्पन्न भएको हो । आगामी वर्ष २०० पुल निर्माण सम्पन्न गर्ने मन्त्रालयको योजना छ । उनले भने, “तीन सय पुल सक्ने लक्ष्य लिइनेछ, कम्तीमा २०० सम्पन्न हुनेछ ।”
छोटो र लामो दूरीमा रेलमार्गका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । नौ सय ४५ किलोमिटर लम्बाइको मेची– महाकाली रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रो रेलअन्तर्गत सम्भाव्यता अध्ययन गर्न इच्छुक परामर्शदातालाई सूचिकृत गर्न मूल्याङ्कन भइरहेको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए । उनका अनुसार छिमेकी देशसँग जोड्ने रेलमार्ग सम्भाव्यता अध्ययन भइरहेको छ । उनले भने, “केरुङ–काठमाडौँ रेलमार्गको चीन र वीरगञ्ज–काठमाडौँ रेलमार्ग भारत सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको छ ।”
जल यातायाततर्फ नेपाल पानीजहाज कार्यालयको स्थापना भएको छ । कोशी र गण्डकी नदीमा जल यातायात सञ्चालन गर्न नेपाल र भारतको संयुक्त टोलीले प्राविधिक अध्ययन गरिरहेको प्रवक्ता सापकोटाले बताए ।