बारामा एक किशोरीको संक्रमणबाट मृत्यु, मृतक संख्या ४५ पुग्यो
बारा परवानीपुर गाउँपालिकाकी एक किशोरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १७ वर्षीया किशोरीकाे संक्रमणबाट मृत्यु भएकाे हाे।
गएको बुधबार उनमा आरडीटी परीक्षण गरिएको थियो। पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएकी ती किशोरीको आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो। यसपछि उनलाई गण्डक कोरोना अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जनाएको छ।
८ साउनमा ती किशोरीको पीसीआर परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। गौतमका अनुसार, ती किशोरीको ९ साउनमा मृत्यु भएको छ। उनी सहित संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ४५ पुगेको छ।