कोरोना संक्रमितमा लक्षण देखिन थाल्यो
कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन्। ९८ प्रतिशत संक्रमित लक्षण नभएका पाइएका थिए भने अहिले पछिल्लो समय लक्षण सहितका संक्रमित देखिन थालेको छ।
नयाँ संक्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए। संक्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेको छ।
उनका अनुसार राजधानी उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ। “पहिले देखिएका संक्रमितमा लक्षण देखिएको थिएन” उनले भने, “तर अहिले देखिएका सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेका छन्।” लक्षण देखिएका संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ।
नेपालमा अहिलेसम्म १८ हजार ३७४ संक्रमित मध्ये ७०.५ प्रतिशत अर्थात् १२ हजार ९४७ जना निको भई घर फर्किसकेका छन्। मृत्यु भएका ४४ जनामा पनि दीर्घरोगी, वृद्धा, गर्भवती महिला छन्। अहिले पाँच हजार ३८३ जना उपचारत छन्।