गुलजारका त्रिवेणी: रगत तप्पतप्प खसिरहन्छ
टाढासम्म मेरो साथमै थियो ऊ, तर एक दिन
फर्केर हेर्दा देखें- त्यो मित्र थिएन साथमा
खल्ती फाटेपछि केही सिक्का हराइजान्छ !
00
फडफडाउन थाले किताबका तमाम पन्नाहरु
दैलो धकेलेर हावा आइपुग्यो घरमा !
कहिलेकाहीं हावा जस्तै तिमी पनि आउने गर !!
00
मान्छेहरु मेलामा हराएर पनि भेटिएका छन् कैयौं चोटि
कथाको कुनै रोमाञ्चक मोडमा
के यसरी सधैंसधैंका लागि पनि कोही छोडेर जान्छ ?
00
मेरा केही 'यार' थिए, मसँगै रहन्थे सधैं
साथमा कोही आएको थियो, तिनलाई लिएर गयो, फर्केनन् फेरि
शेल्फबाट झिकिएको किताबको ठाउँ खाली नै छ !
00
काँडेतारमा कसैले चिसो कपडा टाँगेको छ
रगत तप्पतप्प खसिरहन्छ र नालीमा बग्छ
फौजीको विधवा किन दिनहुँ यो बर्दी धुन्छे ?