निर्मला हत्याकाण्ड सुल्झाउन नयाँ आईजीपीको चासो, फेरि अनुसन्धानमा जुट्यो सीआईबी
कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आज दुई वर्ष पूरा भएको छ। तर, अझै यो हत्या सुल्झिएको छैन। अनुसन्धान जारी नै रहेको बताउनेबाहेक प्रहरीले कुनै उपलब्धि हात पार्न सकेको छैन।
प्रहरीकै साख धुमिल पारेको यो घटना अनुसन्धानका लागि नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीले चासो देखाएका छन्। यो घटनालाई आफ्नो प्राथमिकतामा राख्दै आईजीपी क्षेत्रीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख डीआईजी सहकुल थापा र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआईजी उत्तमराज सुवेदीलाई निर्देशन दिएका छन्।
‘सीआईबीले पहिले पनि अनुसन्धान गरिरहेकै थियो’, सीआईबी प्रमुख डीआईजी थापाले भने, "आईजीपीसाबले नै यसलाई प्राथमिकतामा राखेर निर्देशन दिनुभएकाले हामीले थप प्राथमिकता साथ अनुसन्धान शुरु गरेका छौं।"
आईजीपीको निर्देशनसँगै सीआईबीले अनुसन्धानमा पोख्त विशेष टोलीलाई कञ्चनपुर पठाउने तयारी गरिरहेको डीआईजी थापा बताउँछन्। त्यसैगरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि यसको अनुसन्धान शुरु गरेको छ।
प्रहरी नै असफल भएको घटना
तत्कालीन आईजीपी सर्वेन्द्र खनालको पालामा यो घटना भएको हो। यो घटना सुल्झाउनेभन्दा गिजोल्ने काम बढी भएको आरोप खनालले खेप्नु परेको थियो।
उनीपछि प्रहरी नेतृत्वमा आएका ठाकुरप्रसाद ज्ञवालीले आईजीपी नियुक्त भएलगत्तै आफ्नो कार्यकालमा निर्मला पन्त हत्या अनुसन्धान टुंगोमा पुर्याउने बताएका थिए। ज्ञवाली सीआईबीमै एसएसपी हुँदा कञ्चनपुर पुगेर घटनाको अनुसन्धान पनि गरेका थिए। तर, उनले प्रहरीको नेतृत्व सम्हालेको वेला अनुसन्धानमा उल्लेख्य प्रगति भएन।
लामो समयसम्म पनि निर्मला हत्याको घटना किन सुल्झिन सकेन त? प्रहरी अधिकारीहरु तत्कालीन प्रहरी नेतृत्वले हतारमा नतिजा खोज्ने क्रममा एकपछि अर्काे गल्ती गरेकै कारण घटना थप जेलिन पुगेको बताउँछन्।
प्रहरी प्रवक्ता, डीआईजी निरजबहादुर शाही यो घटनाको अनुसन्धान निरन्तर चलिरहेको बताउँछन्। त्यहाँ केन्द्रबाट सीआईबी लगायतका टोली पुगे पनि अनुसन्धानको मुख्य काम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नै गरिरहेको र वर्तमान आईजीपीको निर्देशनपछि थप गति पाएको उनको भनाइ छ।
यो पनि पढ्नुहोस्— राज्य नै असंवेदनशील
लामो समयसम्म पनि निर्मला हत्याको घटना किन सुल्झिन सकेन त? प्रहरी अधिकारीहरु तत्कालीन प्रहरी नेतृत्वले हतारमा नतिजा खोज्ने क्रममा एकपछि अर्काे गल्ती गरेकै कारण घटना थप जेलिन पुगेको बताउँछन्।
“नेतृत्वले नै सुझबुझपूर्ण काम गरेन”, प्रहरी प्रधान कार्यालयकै एक वरिष्ठ अधिकतृले भने, “अझै पनि धेरै कुरा बिग्रिइसकेको छैन। संवेदनशील भएर अनुसन्धानमा केन्द्रित हुने हो भने यसलाई सुल्झाउन सकिन्छ। हामीले त्यसका संकेतहरु पाएका छौं।”
त्यस वेला प्रहरीले डीएनए परीक्षणमा मात्र केन्द्रित भएर अनुसन्धान गरेपछि यो घटना जटिल बनेको धेरैको बुझाई छ। डीएनए मेल नखाएकै कारण यो घटनाका आरोपीका रुपमा पक्राउ परेका दिलीपसिंह विष्ट रिहा भएका थिए।
त्यसपछिका हरेक अनुसन्धानमा प्रहरीले कैयौंको डीएनए परीक्षण गर्यो। तर, त्यसबाट केही नतिजा प्राप्त भएन। अनुसन्धानका क्रममा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख, एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण र अर्का युवक आयुश विष्टको पनि डीएनए परीक्षण गरिएको थियो।
यो घटना अनुसन्धानका लागि थुप्रै समिति बनाइए। प्रहरीका एकपछि अर्को टोली कञ्चनपुर पुगेर अनुसन्धान गरे। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनायो। राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन गर्यो। तर, हरेक छानबिनको फरक फरक तथ्य बाहिर आएपछि घटना थप जटिल हुन पुग्यो।
छानबिन समितिको सुझावकै आधारमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ प्रहरीलाई निलम्बन गरियो। प्रमाण नष्ट गरेको र यातना कसुरमा चलेको उनीहरुविरुद्धको मुद्दा कञ्चनपुर जिल्ला अदालतमा विचाराधीन छ।
१० साउन २०७५ मा साथी रोशनी बमको घरमा होमवर्क गर्न पुगेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी निर्मलाको शव ११ साउनमा नजिकैको उखुबारीमा भेटिएको थियो।
यो पनि पढ्नुहोस्— अपराधीको निशानामा कलिला बालबालिका