महामारीको जोखिमबीच काम गर्ने स्वास्थ्यकर्मीले पाएनन् सरकारले घोषणा गरेको भत्ता
कोरोनाभाइरसको महामारीका बीच स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीलाई सरकारले जोखिम भत्ता दिने भनिए पनि दुर्गमका कतिपयले पाएका छैनन्।
स्वास्थ्यकर्मीले बाढीसँग घम्साघम्सी गर्दै खोला तरेको एउटा भिडियाे केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
त्यो दृश्यमा भेल छिचोल्दै गरेकी महिला सुर्खेतको बराहताल गाउँपालिकाको हरिहरपुर स्वास्थ्य चौकीकी अनमी लक्ष्मी गौतम हुन् । उनलाई खोला तर्न सघाउने दुई व्यक्ति स्वास्थ्य चौकीका अहेब चन्द्रकिरण थापा र कार्यालय सहयोगी हुन्।
गएको ५ साउनमा चार जनाको टोली बालबालिकालाई खोप लगाउन बराहताल गाउँपालिका–१ को सुंगुरखल हिंडेका थिए। स्वास्थ्य चौकीका अहेब थापा, अनमी गौतम, बराहताल गाउँपालिकाकै आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी सविना शाही तथा कार्यालय सहयोगी नियमित खोप सेवा अन्तर्गत बीसीजी, डीपीटी, पोलियो, दादुरा, पीसीभी, एफआईपीभी गरी ६ प्रकारका खोप बोकेर त्यसतर्फ प्रस्थान गरेका थिए।
बिहान सात बजे हिंडेका उनीहरु दिउँसो १ बजे खोप केन्द्रमा पुगे।
जाने वेला पानी नपरेकाले खहरे खोला सानो थियो । खोप दिएर त्यसै दिन दिउँसो फर्कंदा भने पानी दर्केर खोलामा बाढी उर्लेको थियो।
एकतमासले पानी दर्किरहे पनि ओत लाग्न छेउछाउमा घर थिएन, बाढी पनि बगाउने खालको थियो।
"तर हामीसँग जसरी पनि खोला तरेर फर्कनुको विकल्प थिएन, किनकि भोलिपल्ट अर्को ठाउँमा खोप दिन जानुपर्ने थियो", अनमी शाही भन्छिन्।
त्यसै क्रममा अहेब थापा र कार्यालय सहयोगीले खोलाको बीच भागमा पुगेर अनमी गौतम र शाहीलाई पारि तारे । गौतमलाई अन्य दुईले खोला तार्दै गर्दा शाहीले नै भिडियाे खिचेकी थिइन्।
एक वर्षदेखि करारमा कार्यरत अनमी शाही भन्छिन्, "बालबालिकाहरु खोप लिन बिहानदेखि कुरेर बसेका थिए । उनीहरुलाई सेवा दिन वर्षाको परवाह नगरी हामी खोप केन्द्रमा पुगेका हौं।"
कोरोनाभाइरसको रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण मुलुकमा केही महीना खोप सेवा अवरुद्ध हुन पुग्यो। बन्दाबन्दीका कारण एक महीना खोप दिन नपाएकालाई वैशाख र जेठमा दिएको र अहिले फेरि बाढी-पहिरोका कारण सेवा अवरुद्ध नहोस् भनेर खोप सेवा दिइरहेको शाही बताउँछिन्।
जोखिमबीच स्वास्थ्य सेवा, पाएनन् भत्ता
कोरोनाभाइरसको महामारीका बीच बाढी-पहिरोका घटनाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा दिने काममा थप अप्ठेरो उत्पन्न भएको छ । तर, प्रतिकूलतामा पनि स्वास्थ्यकर्मीले गाउँगाउँ पुगेर सेवा दिइरहेका छन्।
तर, सरकारले कोरोना महामारीका बीच खटिएका स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ता अझैसम्म पनि वितरण हुन सकेको छैन।
सुर्खेतको बराहताल गाउँपालिकामा काम गरिरहेकी शाही लगायत स्वास्थ्यकर्मीहरुले अहिलेसम्म जोखिम भत्ता नै नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले शाही र उनका सहकर्मीहरुलाई १० जेठदेखि २३ दिनसम्म बराहताल–१ को क्वारेन्टिन स्थलमा खटाएको थियो।
शाही लगायतका स्वास्थ्यकर्मीले क्वारेन्टिनमा ड्यूटीमा खटिंदा तलबको ७५ प्रतिशत भत्ता पाउनुपर्नेमा अहिलेसम्म पाएका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरमणि अधिकारी स्थानीय स्तरमा खटिएका स्वास्थ्यकर्मीलाई सम्बन्धित स्थानीय तहले नै भत्ता दिनुपर्ने बताउँछन्।
बराहताल गाउँपालिकाका प्रशासकीय अधिकृत नेत्रराज गिरी कोरोनाभाइरस रोकथामसम्बन्धी काममा खटेका स्वास्थ्यकर्मीलाई गाउँपालिकाको निर्णय अनुसार भत्ता दिने निर्णय भएको तर अहिलेसम्म वितरण नगरेको बताउँछन्।