प्रधानन्यायाधीश लगायत न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै प्रदर्शन (तस्वीरहरू)
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा सर्वोच्च अदालतका न्यायाधीशहरू तेजबहादुर केसी र सपना प्रधान मल्ललाई महाअभियोग लगाउन माग गर्दै काठमाडौंको माइतिघर मण्डलमा प्रदर्शन भएको छ।
पत्नी हत्यामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका रन्जन कोइरालाको सजाय घटाएर साढे ८ वर्षमा झारिदिएको तथा सवारी ज्यान मुद्दाका अभियुक्तलाई धरौटीमा छाडेको आक्रोशमा माइतिघरमा प्रदर्शन भएको हो।
फेसबुक र ट्वीटरलगायत सामाजिक सञ्जालमा गरिएको आव्हानबमोजिम स्वः स्फूर्त जम्मा भएको समूहले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन माग गरेका प्ले-कार्ड बोकेका थिए।
‘नागरिक आवाज’ को आव्हान भनिएको उक्त प्रदर्शनमा सहभागीले 'अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग', 'भागबन्डाको गोटीले हत्यारा छुट्यो भेटीले', 'अपराधीलाई न्याय दिने न्यायाधीशलाई महाअभियोग लगाउ' लगायतका नारा लेखिएका प्ले-कार्ड र ब्यानर बोकेका थिए।
प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले १५ असारमा रन्जन कोइरालाको जन्मकैद घटाएर साढे ८ वर्षमा झारिदिएका थिए। त्यसअनुसार कोइराला ८ साउनमा कारागारबाट छुटिसकेका छन्।
त्यस्तै न्यायाधीश सपना प्रधान मल्ल र मनोज शर्माको इजलासले ३१ असारमा बुढानिलकण्ठमा रक्सीले मातेर कार चलाउँदै पैदल यात्रीको ज्यान लिएको अभियोग लागेका पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा छाड्ने आदेश गरेको थियो।
मल्लको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला र उच्च अदालतले थुनामा पठाएकोमा न्यायाधीशद्वय मल्ल र शर्माले डिप्रेसन र दमको रोगी भएको तथा कोरोनाको जोखिमी समूहमा रहेको भन्दै धरौटी लिएर तारेखमा राख्ने आदेश गरेका थिए।
तस्वीरहरू: बिक्रम राई