आईपीएलको पहिलो खेल १९ सेप्टेम्बरमा, फाइनल ८ नोभेम्बरमा
यो वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) १९ सेप्टेम्बरबाट युएईमा हुने भएको छ। ५१ दिन चल्ने आईपीएलको फाइनल ८ नोभेम्बरमा हुनेछ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को स्रोतलाई उधृत गर्दै दैनिक भाष्करले जनाए अनुसार २० अगष्टसम्ममा सबै फ्रेन्चाइज टिम युएई पुगिसक्नुपर्नेछ। यसबारे आगामी साता हुने आईपीएल सञ्चालक परिषद्को बैठकले निर्णय गर्नसक्नेछ। तर, बीसीसीआईले सबै टिमलाई आफ्नो योजनाबारे जानकारी दिइसकेको छ।
खेल शुरु हुनु एक महीनाअघि अर्थात् २० अगष्टमा युएई पुग्न सबै टिमले तयारी पनि थालिसकेका छन्। खेलाडीलाई त्यहाँको वातावरणमा भिज्न एक महीनाअघि नै लैजान टिमहरुलाई निर्देशन दिइएको हो।
आईपीएल सञ्चालक परिषद्को आगामी साता हुने बैठकमा लिग युएई सार्ने, कोरोनाभाइरसबाट बच्न गाइडलाइन बनाउने र प्रत्यक्ष प्रसारक संस्थाको मागबारे छलफल हुनेछ। लिग प्रत्यक्ष प्रसारणको अधिकार १६ हजार ३४७ करोड भारुमा स्टार स्पोट्र्सले लिएको छ। बैठकमा राति हुने खेल भारतीय समय अनुसार ८ बजे (युएईमा साँझ ६ः३० बजे) गर्ने वा आधा घन्टाअघि गर्ने भन्ने पनि छलफल हुनेछ।
यसअघि आईपीएल २६ सेप्टेम्बरबाट हुने भनिएको थियो। तर, यो वर्षको अन्तिममा भारतीय टोलीले अष्ट्रेलियाको भ्रमण गर्ने हुनाले आईपीएल एक साताअघि सारिएको हो। अष्ट्रेलियामा भारतले चार टेस्ट खेल्नेछ। अष्ट्रेलिया सरकारको नियम अनुसार भारतीय टिम त्यहाँ पुगेपछि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ।