यो वर्ष आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै, देशको ऋण व्यापक बढ्ने विश्व ब्यांकको प्रक्षेपण
बहुपक्षीय ऋणदाता विश्व ब्यांकले चालू आर्थिक वर्षमा २.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ मा ७ प्रतिशतको उच्च आर्थिक वृद्धिदरको लक्ष्य सार्वजनिक गरेका बेला विश्व ब्यांकले भने आर्थिक वृद्धिदर सुस्त हुने अनुमान गरेको हो ।
विश्व ब्यांकले कोभिड–१९ को असर थप लम्बिएर नेपालको व्यापारिक सम्बन्ध भएका देश तथा रेमिटेन्सका स्रोत देशका आर्थिक क्रियाकलाप सुस्त भए नेपालको अर्थतन्त्र २.८ प्रतिशतले घट्नसक्ने अनुमान पनि गरेको छ ।
सरकारले बन्दाबन्दी खुलाएर आर्थिक क्रियाकलाप सुचारु बनाउन खोजेपनि विश्व ब्यांकले भने अर्थतन्त्रले पूरानै लय समात्न लामो समय लाग्ने संकेत गरेको छ ।
विश्व ब्यांकले यो वर्ष पर्यटन क्षेत्रमा मन्दी कायम रहने र रेमिटेन्सको आप्रवाह पनि औसत हुने अनुमान गरेको छ । त्यस्तै, आपूर्ति श्रृंखलामा भएको अवरोधनले औद्योगिक र कृषि उत्पादनमा कमी आउने अनुमान पनि ब्यांकले गरेको छ । विश्व ब्यांकले अर्थतन्त्रमा माग र आपूर्ति पक्ष दुबै कमजोर भएको र यसको असर आर्थिक वृद्धिदरमा पर्ने उल्लेख गरेको छ ।
ब्यांकले बिहीबार सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट २०२० मा गत आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्रै भएको अनुमान गरेको छ । यो सरकारको आंकलन भन्दा कम हो । केन्द्रीय तथ्यांक विभागले भने गत आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको प्रारम्भिक आंकलन प्रस्तुत गर्दै आएको छ ।
विश्व ब्यांकले अर्थतन्त्रको सुस्त वृद्धिको अनुमान सार्वजनिक गरेपनि अर्थमन्त्री डा. युवराज खतिवडाले भने अर्थतन्त्रले छिट्टै पुरानै लय समात्ने बताएका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले अर्थतन्त्रमा लयमा फर्किने बाटोमा रहेको र लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल हुने विचार राखे । उनले विस्तारकारी आर्थिक र मौद्रिक नीतिमार्फत सरकारले अर्थतन्त्रको पुनरुत्थानलाई अघि बढाएको बताए ।
ब्यांकले नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा अनौपचारिक रहेको उल्लेख गर्दै आर्थिक क्रियाकलापको सुस्तताले गरिबी निवारण, असमानता कम गर्ने र खाद्य सुरक्षामा थप चुनौति थपेको बताएको छ ।
विश्व ब्यांकले चालु आर्थिक वर्षमा ६.६ प्रतिशतको मूल्यवृद्धि रहने अनुमान गरेको छ । यो सरकारको मूल्यवृद्धिको लक्ष्यभन्दा थोरै हो । सरकारले यो वर्ष मूल्यवृद्धिको सीमा ७ प्रतिशतलाई तोकेको छ ।
ब्यांकले आयात घट्ने कारणले गर्दा देशको चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ६.५ प्रतिशतमा ओर्लने प्रक्षेपण गरेको छ । हाल यो कुल गार्हस्थ उत्पादनको अनुपातमा ७.२ प्रतिशत छ ।
ब्यांकले चालु आर्थिक वर्षमा देशको ऋण व्यापक बढ्ने आंकलन प्रस्तुत गरेको छ । अहिले कुल गार्हस्थ उत्पादनको अनुपातमा ३०.१ प्रतिशत रहेको ऋण यो वर्षको अन्त्यमा ३७.९ प्रतिशत पुग्ने आकलन गरेको हो ।