बन्दाबन्दीका अनुभूति र घटनाहरु पुस्तकमा
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका घटनालाई आधार बनाइ लेखिएको पत्रकार विनोदबाबु रिजालको पुस्तक ‘एकान्तवास’ प्रकाशित भएको छ।
रिजालले बन्दाबन्दीमा आफूले गरेका अनुभूति, अनुभव र विभिन्न घटनालाई पुस्तकको रुप दिएको बताए। उनले भने, “गहिरो कल्पनामा डुबेर लेखिएको किताब होइन, कोरोना त्रास र लकडाउनको कालो दिनलाई सम्झने प्रयास गरेको हुँ।” पुस्तक डायरी शैलीमा लेखिएको छ।
बन्दाबन्दीमा अर्थतन्त्र र सामाजिक जीवनमा पारेका प्रभावलाई पुस्तकमा महत्व दिएको उनले बताए। उक्त पुस्तकमा बन्दाबन्दीमा भएका राजनीतिक उतारचढाव, प्रधानमन्त्रीका अभिव्यक्तिहरु, नयाँ नक्सा जारी, संक्रमितको बढ्दो प्रभावलगायतका घटना समेटिएका छन्।
साहित्यकार गोविन्दराज विनोदीले पुस्तक आगामी पुस्ताका लागि उपयोगी हुने बताए। उनले भने, “असहज परिस्थितिलाई सदुपयोग गर्नुभएको छ, पुस्तकमा ‘न्युज’ र ‘भ्युज’ को समिश्रण छ।”
साहित्यकार बालकृष्ण थपलियाले पुस्तकमा ८ चैतदेखि १ असारसम्मका मुख्य घटनाक्रम, तथ्यांक र अनुभूतिलाई रोचक ढंगले समावेश गरिएको बताए। “यो डायरी पढिरहँदा हामी लेखकसँग रुन सक्छौँ, हाँस्न सक्छौँ”, उनले भने, “कतै इतिहास सम्झिन सक्छौँ, कतै जीवनका आरोह अवरोह सम्झिन सक्छौँ।”
साहित्यकार एलबी क्षेत्रीले एकान्तवासको असह्य पीडा भोगे पनि मिठो कृति ल्याएको बताए। पुस्तक युरेका पब्लिकेसनले प्रकाशन गरेको हो। लेखक रिजाल ‘कायाकैरन’ दैनिकका सम्पादक हुन्।