पीसीआर परीक्षण दर बढाउन स्वास्थ्य सेवा विभागद्वारा ९ करोड* बराबरका स्वास्थ्य सामग्री खरिद
कोरोनाभाइरस संक्रमणको आशंका गरिएकाहरुको पीसीआर परीक्षण दर बढाउन स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन आपूर्ति व्यवस्थापन शाखाले सात थान अटोमेटेड आरएनए एक्सट्रयाक्सन उपकरण खरिद गरेको छ। ती सामग्री मंगलबार राति हिमालय एयरलाइन्समार्फत चीनबाट ल्याइसकिएको छ।
एकै पटक धेरै जनाको कारोना परीक्षण गर्नका लागि एक थान उपकरणलाई रु.३६ लाख ३३ हजारमा खरिद गरिएको हो। यस हिसाबले सात थान उपकरणलाई रु.२ करोड ४३ लाख ३१ हजार* पर्छ।
शाखाका निर्देशक डा. रमेश कुमार खरेलले स्थानीय सप्लायर्स कम्पनी मेट्रोनिक्समार्फत चीनबाट सात थान अटोमेटेड आरएनए एक्सट्रयाक्सन उपकरण खरिद गरेको बताए। ती उपकरणसहित तीन लाख थान आरएनए एक्ट्रयाक्सन किट पनि ल्याइएको छ।
डा. खरेलका अनुसार रु.२०९ का दरले तीन लाख थान किट खरिद गरिएको हो। ती किटको कूल मूल्य रु.६ करोड २७ लाख परेको छ।
चीनबाट ल्याइएका आरएनए एक्ट्रयाक्सन मेसिन र किट युरोपियन मापदण्ड अनुसारको भएको उनको दाबी छ। ती सामग्रप्को गुणस्तर जाँच नेपालमा पनि हुने उनले बताए। “ल्याइएका सामानहरु कत्तिको गुणस्तरी छन् भनेर जाँच गरेपछि राम्रो नतिजा देखिएमा सातै वटा प्रदेशलाई एक–एक थान उपकरण बाँड्ने तयारी छ”, डा. खरेल भन्छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सातै वटा प्रदेशमा अटोमेटेड आरएनए एक्सट्रयाक्सन मेसिन प्रयोगमा आएपछि दैनिक १५ हजार जनाको कोरोना परीक्षण गर्न सकिन्छ।
अहिले देशभर ‘म्यानुअल्ली’ स्वाबबाट आरएनए छुट्याइन्छ। अब यो मेसिन प्रयोगमा आएपछि स्वचालित रुपमा स्वाबबाट आरएनए छुट्याएर पीसीआर परीक्षण गरिनेछ।
यो मेसिनबाट परीक्षण गर्ने समय पनि आधाले घट्नेछ। तर विज्ञहरु सरकारले अनावश्यक खर्च गर्ने गरि अटोमेटेड आरएनए एक्ट्रयाक्सन मेसिन खरिद गरेको बताउँछन्।
अमेरिकाको टेक्सासस्थित सोनिक हेल्थकेयरको क्लिनिकल प्याथोलोजी ल्याब्रोटरीका सुपरभाइजर द्रोण पाण्डे सरकारले डाइरेक्ट पिसिआरलाई पन्छाएर अटोमेटेड आरएनए एक्सट्रयाक्सन किट खरिदमा ध्यान दिनु राम्रो कदम नभएको बताउँछन्। “यो मेसिन किन्नु अनावश्यक खर्च हो,” पाण्डे भन्छन्, “जनताको करमा खेलबाड गरियो।”
उनी आफुजस्ता विदेशमा रहेका विज्ञहरुले स्वास्थ्य मन्त्रालयका पदाधिकारीलाई तीन महिना पहिलेदेखि नै डाइरेक्ट पिसिआरमार्फत परीक्षण बढाउन सिफारिस गरेकामा लागू गर्न आनाकानि गरिहेको बताउँछन्। डाइरेक्ट पीसीआर गर्दा आरएनए एक्सट्रयाक्सन गर्नै नपर्ने र किट तथा भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडियम) मा हुने खर्च जोगिने उनको भनाइ छ।
पाण्डेका अनुसार डाइरेक्ट पीसीआर गर्दा सुक्खा स्वाब संकलन गरिने भएकाले भीटीएम र आरएनए एक्स्ट्रयाक्सन किट बिना कोरोना परीक्षण गर्न सकिन्छ । यसबाट समयको बचत हुने र अनावश्यक खर्च पनि कटौती हुने उनको भनाई छ ।
संक्रामक रोग तथा आईसियू विशेषज्ञ डा. प्रभात अधिकारी डाइरेक्ट पीसीआर विधिमार्फत परीक्षण बढाउन सके दैनिक पाँच हजार जनाको जाँच गर्दा पनि रु.४५ लाख बचाउन सकिने दाबी गर्छन्।
टेक्सासको सोनिक हेल्थकेयरको क्लिनिकल प्याथोलोेजी ल्याब्रोटरीका सुपरभाइजर पाण्डे विदेशबाट महङ्गोमा सामान खरिद गरेर ल्याउँदा कमिसनको लोभमा अनावश्यक सामग्री खरिद भइरहेको हुनसक्ने आशंका गर्छन्। उनी भन्छन्, “यसअघि पनि सरकारले आवश्यक नै नभएको र्यापिड डायग्नोष्टिक टेष्ट किटमा करोडौ खर्च गरिसकेको छ।”
*सच्याइएको