प्रदेश–२ मा बाढीले तीन जना बेपत्ता
अविरल वर्षाका कारण प्रदेश–२ मा तीन जना हराइरहेका छन् भने दुई जनाको उद्धार गरिएको छ। भारी वर्षाले प्रदेश–२ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
रौतहट जिल्लाको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका–३ की सुकमानी थिङ (५०) बेपत्ता भएकी हुन्। मंगलबार बिहान खोलामा पौडी खेल्न गएकी थिङलाई खोलाले बगाएकाे हाे।
महोत्तरीको रातु नदी पार गर्न खोज्दा भङ्गाहा नगरपालिका–६ संग्रामपुरका वीरेन्द्र कापर (३५) लाई बगाएको छ। यसैगरी नाम खुल्न नसकेका सर्लाहीका एक जना पौडी खेल्न गएकामा उनी पनि बेपत्ता छन्।
अविरल वर्षा र बाढीबाट मध्य तराईका अधिकांश जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ। बङ्गरी, दूधौरा खोलामा आएको बाढीले प्रसौनी गाउँपालिका–५ र ६ को करीब ३५० बिघा क्षेत्रफलमा लगाइएको धानबाली कटान गर्दा करोडाैंको क्षति भएको छ।
पसहा खोलामा आएको बाढीले कलैया उपमहानगरपालिका–२१ को भोडहा, सोनरनिया, खम्बा क्षेत्रमा लगाइएको धानबाली नष्ट गरेको छ।
अविरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको अधिकांश भाग डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ।
बाढी र वर्षाले पश्चिमी पर्साका अधिकांश गाउँपालिकाको सम्पर्क बिच्छेद भएको छ। हिलाम्मे सडकका कारण मानिस तथा सवारी साधनको आवतजावत प्रभावित भएको छ।
पर्साको सिङ्गाही नदीमा आएको बाढीले पर्सागढी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ। तीन दिनदेखि परेको वर्षाका कारण पश्चिमी पर्साका दर्जनौँ गाउँ डुबानमा परेका छन्।