खुलेको चार घन्टापछि नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो
पहिरोका कारण ३६ घन्टापछि खुलेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको करीब चार घन्टामा नै सडक अवरुद्ध भएको हो। ठूलो चट्टानसहित साँझ ८ः४५ बजे पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ। चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४ः३० बजे सडक एकतर्फी खुलाइएको थियो।
लामो समय सडक अवरुद्ध भएपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका अधिकारी अनुगमनमा गएका थिए। तर, फेरि पहिरो झरेपछि उनीहरु सडकमै रोकिएका थिए।
अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि उनीहरु सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी सदरमुकाम फर्किएका छन्। राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने इन्जिनियर अधिकारीले बताए।