विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या डेढ करोड नाघ्यो
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या एक करोड ५० लाख ८४ हजार ३७१ पुगेको छ। ६ साउनमा एकैदिन दुई लाख ३८ हजारभन्दा बढी संक्रमित फेला परेका छन्।
जुलाई शुरुदेखि नै दैनिक संक्रमितको संख्या दुई लाख नाघेको थियो। सबैभन्दा बढी संक्रमित १६ जुलाईमा करीब दुई लाख ५० हजार भेटिएका थिए। त्यस यता हरेक दिन नयाँ संक्रमित भेटिने दर केही कम भए पनि उतारचढाव देखिएको छ।
संक्रमित निको हुने दर भने बढेको छ। अहिलेसम्म करीब ९१ लाख चार हजार संक्रमित निको भएका छन्। मृतकको संख्या ६ लाख १८ हजार ४७७ पुगेको छ।
अमेरिका र ब्राजिलमा फेरि दैनिक मृत्यु हजार नाघेको छ। विगत २४ घन्टामा सबैभन्दा बढी ब्राजिलमा एक हजार ४६ र अमेरिकामा एक हजार १११ जनाको मृत्यु भयो। दुवै देशमा करीब एक सातापछि एकैदिन मृत्यु हुनेको संख्या हजार नाघेको हो।
उता छिमेकी देश भारतमा दैनिक मृत्युदर करीब स्थिर छ। त्यहाँ पछिल्लो २४ घन्टामा ६७१ जनाको मृत्यु भएको छ। त्यहाँ सोमबार ५९६ र आइतबार ६७५ जनाको मृत्यु भएको थियो।
यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी अझ भयानक हुने चेतावनी दिएका छन्। त्यसपछि मात्र यसको असर कम हुने भन्दै संक्रमणबाट जोगिन सबै अमेरिकीले मास्क लगाउनुपर्ने बताएका छन्।
कोरोनाभाइरस सम्बन्धि आफ्नो नियमित पत्रकार सम्मेलन फेरि शुरु गर्दै उनले आफ्नो अडान परिवर्तन गरेर मास्क लगाउन आग्रह गरेका हुन्। यसअघि अप्रिलमा उनले सबैले ‘डिस्इन्फेक्सन’ सुई लगाए कोरोनाभाइरसबाट बच्न सकिने बताएका थिए। त्यसकारण उनको तीब्र आलोचना भएपछि नियमित पत्रकार सम्मेलन नै बन्द गरेका थिए।