बन्दाबन्दी खोल्ने सरकारी निर्णयः समुदायमा संक्रमण फैलिने डर, विज्ञहरु असन्तुष्ट
सरकारले गएको ११ चैतदेखि शुरू भएको बन्दाबन्दीलाई मंगलबार मध्यरातदेखि लागू हुने गरी अन्त्य गर्ने निर्णय गर्यो ।
पाँच साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले बन्दाबन्दी मंगलबार रातीदेखि अन्त्य हुनेबारे निर्णय गरेको सरकार प्रवक्ता युवराज खतिवडाले मंगलबार रातिदेखि बन्दाबन्दी अन्त्य गरिएको बताए ।
सरकारले बन्दाबन्दी खोल्ने निर्णय गरेको भनेपनि सिमित सेवा र व्यावसायमात्र मापदण्डभित्र रहेर खोल्ने भनेको छ । त्यसो त सरकारले बन्दाबन्दीकै अवधीमा खुलेका होटल तथा रेस्टुरेन्टलाई मापदण्डभित्र सञ्चालन गर्न सकेन । कमजोर नियमनका कारण ती क्षेत्रहरुमा अहिले पनि भिडभाड उत्तिकै छ ।
मन्त्री खतिवडाका अनुसार १ भदौबाट सीमित सेवाहरू बाहेक अधिकांश सेवा र व्यवसाय खुल्ला हुनेछन् । १ भदौबाट सुरु हुने सेवामा अन्तर्राष्ट्रिय उडान, यातायात र केही शैक्षिक गतिविधि लगायतका सेवाहरू सञ्चालन हुनेछन् ।
सरकारले १ भदौबाट लामो र छोटो दूरीका निजी र सार्वजनिक सवारी साधन चलाउन, राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न अनुमति दिएको छ । अन्तर्राष्ट्रिय खेलको तयारी र प्रशिक्षण गर्न अनुमति दिएको छ, भने विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्नका लागि एक भदौ देखिको समय तोकेको छ ।
१५ साउनबाट होटल र रेष्टुराँ खोल्न, ट्रेकिङ र पर्वतारोहणसम्बन्धी सेवाहरू पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रालय र मातहतका निकायका विज्ञहरुको कुरै नसुनी सरकारले बन्दाबन्दी खोल्ने निर्णय गरेको पाइएको छ । मन्त्रालयको अन्तर्गतको एक निकायमा कार्यरत विज्ञ चिकित्सकका अनुसार उनीहरुको राय वा सल्लाह बिनै सरकारले बन्दाबन्दी खोल्ने निर्णय गरेको हो ।
ती विज्ञ चिकित्सकका अनुसार सरकारले व्यवस्थित रुपमा बन्दाबन्दी खोल्ने निर्णय नगरेका कारण समुदायमा कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना उच्च रहेको छ । “समुदायमा भाइरसको अवस्था के छ भनेर हेरिएको छैन । भारतबाट बढी मात्रामा मानिसहरु आउने प्रदेश–२ मा त्यहाँको कोरोना भाइरस फैलिए वा नफैलिएको थाहा पाउन परिक्षण नै गरिएको छैन,” नाम नबताउने सर्तमा ती विज्ञ चिकित्सकले भने, “सिकिस्त र शंकास्पद कति छन् भनेर पनि हेरिएको र त्यसबारे तथ्यांक राखिएको छैन । यसले जोखिम झनै बढाएको छ ।”
स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार ६ साउनसम्म प्रदेश–२ मा कोरोनाका एक हजार ९१३ जना सक्रिय संक्रमित छन्। विज्ञहरुका अनुसार आउने जाडो महिना मुलुकका लागि कोरोना संक्रमणको उच्च जोखिमपूर्ण समय रहेको छ ।
भारतले आउँदो डिसेम्बर अर्थात जाडो महिनासम्म कुल जनसंख्या आधा कोरोनाबाट संक्रमित हुने आंकलन गरेको छ । भारतमा कोरोना संक्रमण बढ्दा खुला सिमानाका कारण त्यहाँबाट हुने आवतजावत बढ्ने र यसले नेपालमा थप जोखिम निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् । बन्दाबन्दी खुलेसँगै अब होटल तथा रेस्टुरेन्टहरुमा भोजभतेर र जमघट बढ्ने र त्यसले समुदायमा संक्रमण फैलाएर खतरनाक अवस्था निम्तिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सरकारले सार्वजनिक स्थान के कस्ता सुरक्षा अपाय अपनाएर सञ्चालन गरिएको छ भन्ने बारेमा कडा अनुगमन गर्न सकेको छैन । मानिसहरुको भिडभाड बढी हुने कतिपय ठाउँमा त सरकारले कसरी सुरक्षा उपाय अपनाएर सञ्चालन गर्ने भन्ने बारेमा कुनै निर्देशिका समेत बनाएको छैन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला सरकारले बन्दाबन्दी खोल्ने निर्णय गरेसँगै अब यातायातका साधनमार्फत विभिन्न जिल्लाबाट काठमाडौं लगायतका सहरमा भित्रिनेको संख्या बढ्ने र भिडभाड हुने समुदायमा संक्रमण फैलिन जोखिम रहने बताउँछन् ।
डा. बास्तोला अस्पतालहरुमा मानिसहरुको भिडभाड हुने भएकाले संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले सुरक्षाका उपयाहरु अपनाउनुपर्ने बताउँछन्। उनी भन्छन्, “स्वास्थ्यकमीहरुले शंकास्पद बिरामीलाई अनिवार्य पिसिआर परिक्षण गरेर मात्र औषधी उपचार गर्नुपर्छ नत्र अस्पतालमा नै संक्रमण फैलिनसक्छ ।”