मुलुकका केही ठाउँमा अस्वभाविक वर्षा, तीन दिनमा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशमा
पछिल्लो तीन दिनमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार, सोमबार र मंगलबार गण्डकी प्रदेशको नवलपुरस्थित डण्डामा सबैभन्दा बढी वर्षा मापन गरिएको छ।
तीन दिनमा डण्डामा ३१२.२ मिलिमिटर वर्षा भएको छ। मंगलबार मात्र १०५.८ मिलिमिटर वर्षा भएको छ भने सोमबार १५७.८ र आइतबार ८७.६ मिलिमिटर वर्षा भएको छ।
त्यसैगरी पछिल्लो तीन दिनमा धेरै वर्षा हुने स्थान बाराको कोल्वी क्षेत्र हो, जहाँ ३२५ मिलिमिटर बर्षा भएको छ। मंगलबार मात्र १६८.८ सोमबार १५६ र आइतबार ०.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
त्यसैगरी तीन दिनको अवधिमा कास्कीको घारेढुँगामा ३१२ दशमलव ४ मिलिमिटर बर्षा भएको छ। त्यसमध्ये मंगलवार मात्र ११९.४ सोमबार १६९ र आइतबार २४ मिलिमिटर वर्षा मापन भएको छ।
बढी वर्षा मापन गरिएको अर्को केन्द्र गोरखा र धादिङ जिल्लाको आरुघाट हो। आरुघाटमा २२१ मिलिमिटर वर्षा भएको छ। आज १६०.२, हिंजोको १११ दशमलव ६, अस्तीको ९ दशमलव २ बर्षा भएको छ।
त्यसैगरी बढी वर्षा मापन गरिएको अर्को स्टेशन मकवानपुरको मकवानपुरगढी हो। मकवानपुर गढीमा २६६.२ मिलिमिटर वर्षा भएको छ । उक्त स्थानमा आज मात्र १९९.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । सोमबार ५९ र आइतबार ८ मिलिमिटर वर्षा मापन गरिएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन सुरु भएको १२ जूनदेखि २१ जुलाईसम्म ७६५.१ मिलिमिटर वर्षा भएको छ। विभागका अनुसार यो औषत सञ्चित वर्षाको दरभन्दा १४९ मिलिमिटरले बढी हो। मनसुनभरीको यो अवधिको सरदर वर्षाको दर ६१६ मिलिमिटर हो।
अस्वभाविक वर्षा
यसपटकको मनसुनमा केही स्थानमा अस्वभाविक वर्षा भएको छ। छोटों अवधिमा धेरै वर्षा भएका उदाहरणहरू छन्। जसलाई मौसमविज्ञहरू अस्वभाविक वर्षा मान्छन्।
सोमबार रुपन्देहीको सूर्यपुरामा मापन गरिएको वर्षा अस्वभाविक भएको मौसमविज्ञहरूको भनाइ छ। सूर्यपुरामा राती ११ देखि १२ बजेसम्म एक घण्टामा १४० मिलिमिटर बर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जलवायू विज्ञ ङमिन्द्र दाहाल सूर्यपुरामा मापन गरिएको वर्षालाई एकदमै अस्वभाविक वर्षा ठान्छन्। “यो एकदमै अस्वभाविक र अभूतपूर्व वर्षा हो,” दाहाल भन्छन्। सूर्यपुरामा ‘क्लाउड व्रष्ट’ भएर अस्वभाविक वर्षा भएको दाहालको भनाइ छ।
कुनैपनि स्थानमा घना बादल थुप्रिएर यताउता फैलिन पाएन भने एकै ठाउँमा ठूलो वर्षा हुन्छ। जसलाई ‘क्लाउड व्रष्ट’ भनिन्छ। दाहालका अनुसार यस्तो अवस्था पहाडको फेंदीमा बढी हुन्छ। हावा र पहाडले गर्दा बादल फैलिन नपाएर एकै ठाउँमा जम्मा हुन्छ।
महाभारत र चुरे क्षेत्रमा धेरै क्लाउढ व्रष्ट हुने दाहाल बताउँछन्। “पहिला क्लाउड व्रष्ट भएको जानकारी पाइदैनथ्यो,” दाहाल भन्छन् “अहिले स्वचालित वर्षा मापन केन्द्रहरुले पठाउने विवरणका आधारमा वास्तविकता बुझ्न सजिलो भएको छ।”
सूर्यपुरामा भएको जस्तो बर्षा पाल्पा वा चुरे र महाभारत क्षेत्रमा भएको भए त्यसले ठूलो विपत्ति निम्ताउने दाहालको भनाइ छ। “समथर ठाउँमा भएकोले केही समय डुवान मात्र भयो, त्यो पानी पहाडमा परेको भए त्यसले ठूलो पहिरो र बाढी निम्ताउँथ्यो,” दाहाल भन्छन् “सानो तिनो क्लाउड व्रष्ट नभइ पहिरो जाँदैन। अहिले जहाँ जहाँ पहिरो गएका छन् । त्यहाँ क्लाउड व्रष्ट भएको छ।”
एकहत्तर घटनामा छ को मृत्यु
५ साउन विहान १० बजेदेखि ६ साउन विहान १० बजेसम्म मुलुकभर भएका ७१ वटा विपदका घटनामा ६ जनाको मृत्यु भएको छ। ३ जना हराइरहेका छन् भने ११ जना घाइते भएका छन्। ५१ पशु चौपाया मरेका छन्। करिब ७७ लाख ४२ हजार मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ।
पछिल्लो २४ घण्टामा ३१ स्थानमा पहिरो गएको थियो। २४ स्थानमा अविरल वर्षा भएको ११ स्थानमा बाढी आएको राष्टिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।