न्यायाधीश रूथ गिन्सवर्गको खराब स्वास्थ्यलाई लिएर अमेरिकी डेमोक्रेटहरूमा बढ्यो चिन्ता
रिपब्लिकनहरूले न्यायाधीश पद रिक्त भएमा त्यसको पूर्ति गरिने बताउँदै आएकाले अहिले नै सर्वोच्च अदालतमा अल्पमतमा रहेका डेमोक्रेटहरु न्यायाधीश रूथ गिन्सवर्गको कथं वहिर्गमन भएमा झनै कमजोर हुने कुराले चिन्तित छन्।
अमेरिकाको सर्वोच्च अदालतकी सबैभन्दा ज्येष्ठ न्यायाधीश रूथ गिन्सवर्गले आफूलाई पुन: क्यान्सर देखिएपछि किमोथेरापी चलिरहेको जानकारी दिएकी छन्, जसले डेमोक्रेटहरूबीच चिन्ता बढाइदिएको छ।
गिन्सवर्गले ३ साउनमा आफूलाई पुन: क्यान्सर देखिएपछि किमोथेरापी गराइरहेको बताउँदै सर्वोच्च अदालतमा सेवा भने जारी राख्ने जानकारी गराएकी थिइन्।
एकजना उदारवादी न्यायाधीशले अवकाश लिएमा वा उनको मृत्यु भएमा सत्तारूढ रिपब्लिकन पार्टीले परम्परावादी व्यक्तिलाई न्यायाधीश बनाएर उक्त स्थान पूर्ति गरिदेला भन्ने चिन्ता डेमोक्रेट्हरूलाई छ, त्यसो भएमा आउँदो दशकसम्म पनि सर्वोच्च अदालतमा 'दक्षिणपन्थी' न्यायाधीशहरूको बहुमत रहिरहनेछ।
को हुन्, न्यायाधीश गिन्सवर्ग?
अमेरिकाको सर्वोच्च अदालतमा नियुक्त हुने दोस्रो महिला न्यायाधीश गिन्सवर्ग अमेरिकी न्यायपालिकाका लागि मात्रै होइन, महिला आन्दोलनकै शिखर व्यक्तित्व हुन्। सन् १९३३ मा न्यूयोर्कमा जन्मेकी उनी कोर्नेल विश्वविद्यालयकी ग्राजुएट हुन्, जहाँ उनले आफ्ना पति मार्टी गिन्सवर्गलाई भेटेकी थिइन्। पछि दुवै जना हार्वर्ड ल स्कुल पुगे। हार्वर्डमा ५५२ जना विद्यार्थीमध्ये ९ जना केटीहरूमा पर्थिन्, गिन्सवर्ग।
दाम्पत्य जीवनमा उनले बालबच्चाको साथै क्यान्सर पीडित पतिको पनि स्याहार गर्नुपर्यो।
पछि उनी कोलम्बिया विश्वविद्यालय पुगिन्, दुवै विश्वविद्यालयको 'ल रिभ्यू' मा काम गर्ने उनी पहिलो महिला थिइन्। उत्कृष्ट एकेडेमिक व्यक्ति हुँदाहुँदै पनि काम पाउन भने उनले भेदभावको सामना गर्नुपर्यो।
“पूरै न्यूयोर्क शहरभर मलाई कुनै पनि ल फर्मले काम दिँदैनथे, म यहुदी थिएँ, एक महिला र आमा थिएँ। यी तीन कुरा नै मेरा लागि तगारा बने,” धेरैपछि उनले सार्वजनिक रूपमा भनेकी थिइन्। सन् १९७० ताका एकेडेमिक क्षेत्रमा काम गर्दागर्दै पनि गिन्सवर्गले आफूलाई लैंगिक समानताको पैरवी गर्ने मामिलामा अग्रपंक्तिमा राखेकी थिइन्। सर्वोच्च अदालतका केही ऐतिहासिक 'केस' मा उनले काम गरिन्। उनले आफूलाई प्रखर नारीवादीका रूपमा चिनाउँथिन्।
सन् १९८० मा उनी कोलम्बियाको 'कोर्ट अफ अपील' मा न्यायाधीश नियुक्त भइन्। पछि सन् १९९३ मा उनलाई सर्वोच्च अदालतमा नियुक्त गरियो। सर्वोच्च अदालतमा उनलाई उदारवादी न्यायाधीशका रूपमा चिनिन्छ, साथै खरो रूपमा फरक मत लेख्ने न्यायाधीशको रूपमा पनि उनको पहिचान बनेको छ। इन्टरनेटको युग आएपछि उनको लोकप्रियता अझै बढेको छ।
अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीशहरू सिधै राजनीतिज्ञहरूद्वारा नियुक्त गरिन्छन्। राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले न्यायाधीशहरू मनोनीत गर्छ, जसलाई अमेरिकी संसदको माथिल्लो सदन सिनेटले पास गर्छ। अहिले दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ। अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीशहरूलाई उमेरको हद छैन, उनीहरूले आजीवन सेवा गर्न पाउँछन्।
९ सदस्यीय इजलासमा उदारवादी र परम्परागत विचारधाराका न्यायाधीशबीच विचारको द्वन्द्व सधैं देखिंदै आएको छ। अमेरिकी सर्वोच्च अदालतको इतिहासमा सबैभन्दा ज्येष्ठ न्यायाधीशको रूपमा अलिभर वेन्डेल होम्सको नाम आउँछ, उनी ३० वर्षको सेवापछि सन् १९३२ मा ९० वर्षको उमेरमा सेवानिवृत्त भएका थिए। न्यायाधीश गिन्सवर्ग अहिले ८७ वर्षकी भइन् र उनी २७ वर्षदेखि सर्वोच्च अदालतको इजलासमा बस्दै आएकी छिन्।
धेरै विश्लेषकहरूको विश्वासमा गिन्सवर्गको निधन भएमा वा उनले अवकाश लिएमा चुनाव हुन केही महीनाको अवधिमा रिपब्लिकनहरूले तुरून्तै उनको रिक्त स्थान अर्का न्यायाधीशबाट पूर्ति गरिदिनेछन्।
राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएयता रिपब्लिकनहरूले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश पठाउन सफल भएका छन्, जसले इजलासको संरचना बदलिदिएको छ। अहिले ९ जना न्यायाधीशमध्ये परम्परावादी न्यायाधीश ५ जना पुगिसकेका छन्, उदारवादीहरू अहिले नै अल्पमतमा छन्।
डेमोक्रेटहरूको चिन्ता
धेरै विश्लेषकहरूको विश्वासमा गिन्सवर्गको निधन भएमा वा उनले अवकाश लिएमा चुनाव हुन केही महीनाको अवधिमा रिपब्लिकनहरूले तुरून्तै उनको रिक्त स्थान अर्का न्यायाधीशबाट पूर्ति गरिदिनेछन्। यसैवर्षको ३ नोभेम्बरमा अमेरिकी राष्ट्रपति र सिनेटका १०० मध्ये ३५ स्थानमा चुनाव हुँदैछ। राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेद्वार विजयी भएमा उनीहरूले सर्वोच्च अदालतमा उदारवादी र परम्परावादी न्यायाधीशको अनुपातलाई ४-५ मा राखिराख्न सफल हुनेछन्।
रिपब्लिकन नेताहरूले यो वर्षको शुरूआतदेखि नै सर्वोच्च अदालतमा पद रिक्त भएमा त्यसको पूर्ति गरिने बताउँदै आएकाले पनि डेमोक्रेटहरुको चिन्ता अझ बढेको छ।
केही डेमोक्रेटहरूले 'दक्षिणपन्थी पार्टी' ले त्यस्तै मापदण्ड २०२० मा पनि अपनाउलान् भन्ने विश्वास पनि गरेका छन्, तर रिपब्लिकनहरूले भने पद रिक्त भएमा नियुक्तिको प्रक्रिया अगाडि बढाउने बताउँदै आएका छन्।
बराक ओबामाले राष्ट्रपतिको रूपमा अन्तिम वर्ष गुजारिरहेका बेला सन् २०१६ मा सिनेटमा बहुमत रहेका रिपब्लिकनहरूले ओबामाका उम्मेद्वारलाई रोकिदिएका थिए। त्यो बेला उदारवादी न्यायाधीश मेरिक ग्यारल्यण्डलाई ओबामाले मनोनीत गरेका थिए, तर रिपब्लिकनहरूले चुनाव आउँदै गरेको सन्दर्भ देखाउँदै 'कसलाई मनोनयन गर्ने भन्ने कुरा अमेरिकी जनताले निर्णय गर्न पाउनुपर्ने' तर्क गर्दै उनको नियुक्ति रोकिदिएका थिए।
केही डेमोक्रेटहरूले 'दक्षिणपन्थी पार्टी' ले त्यस्तै मापदण्ड २०२० मा पनि अपनाउलान् भन्ने विश्वास पनि गरेका छन्, तर रिपब्लिकनहरूले भने पद रिक्त भएमा नियुक्तिको प्रक्रिया अगाडि बढाउने बताउँदै आएका छन्। उनीहरूले आफ्नो यस्तो फेरिएको धारणालाई 'यो समय ह्वाइट हाउस र सिनेट दुवै आफ्नो पार्टीको नियन्त्रणमा रहेको' देखाउँदै प्रतिरक्षा गर्ने गरेका छन्।
इन्डियन एक्स्प्रेसबाट भावानुवाद