बाँकेमा रोहिणी र डुडुवा खोलाको कटानले बस्ती जोखिममा
बाँकेको रोहिणी र डुडुवा खोलाको कटानले कोहलपुर नगरपालिकाका तीन वटा टोल जोखिममा परेका छन् । कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवा खोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टार लगायत टोल जोखिममा रहेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले जानकारी दिए।
उनका अनुसार रोहिणी र डुडुवा खोलाको बाढीका कारण कोहलपुर नगरपालिकाको वडा नम्बर ७, ८, १०, ११, १२ र १३ का बासिन्दा प्रभावित हुँदै आएका छन् । दुवै खोलामा आएको बाढीले तीव्ररुपमा कटान गरिरहेकाले खोला छेउका बस्ती जोखिममा परेको छ । बस्ती बचाउन नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको मेयर रावतको भनाइ छ।
केही दिनयता निरन्तर परेको पानीले कोहलपुर–१२ स्थित जानकीनगर टोल रोहिणी खोलाको तीव्र कटानले जोखिममा परेको स्थानीयवासी एवं कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले जानकारी दिए । लगातारको वर्षाका कारण रोहिणी खोलामा आएको बाढीले करीब १५ मीटर कटान गरी बहाव परिवर्तन गरी बस्तीतिर फर्केकाले जोखिम बढेको वलीले बताए । तीन मीटरको चौडाइमा रहेको रोहिणीखोलाले कटान तीव्र पार्दै अहिले १५ मीटरभन्दा बढी फैलिएको उनको भनाइ छ।
खेतबारी बगाउँदै बस्तीतिर खोला सोझिएको स्थानीय खेमराज शर्माले बताए।
रोहिणी र डुडुवाखोलाको तीव्र कटानका कारण जोखिममा परेका बस्ती जोगाउन तत्काल अस्थायी रूपमा तटबन्ध निर्माण कार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङले जानकारी दिए।
उनले कटानलाई तत्कालका लागि रोक्न जिल्ला विपद् व्यवस्थापन समितिबाट बोरी र जालीको व्यवस्था गरी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको पहलमा तटबन्ध लगाउन शुरु गरिएको बताए।