सुदूरपश्चिमका मन्त्रालय नजिक राखिएका प्रेस कुकर बम सेनाद्वारा डिस्पोज
उन्नती चौधरी
कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालय नजिक राखिएका बम आज बिहान नेपाली सेनाले ‘डिस्पोज’ गरेको छ।
सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक आज बिहानै प्रेसर कुकर बम फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको जानकारी दिए।
विप्लव समूहका कार्यकर्ताले कैलालीका अन्य तीन ठाउँमा पनि बम राखेको जानकारी आएपछि सेनाले निस्क्रिय पारेको विष्टले बताए। उनका अनुसार विप्लव समूहले सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक बम राखेको थियो।
त्यस्तै अमित मेडिसन डिष्ट्रिव्युटर्सनजिक राखिएको बम पनि सेनाले निस्क्रिय पारेको छ। सुदूर पश्चिम पश्चिम प्रदेश सभाकै अगाडि अमित मेडिसन डिष्ट्रिव्युटर्सको कार्यालय छ।
घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी
कैलालीको घोडाघोडी नगरपालिकाको पार्किङमा राखिएको गाडीमा आगजनी भएको छ। राति अज्ञात समूहले आगजनी गरेको जानकारी पाएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
प्रहरीका अनुसार घरको परिसरभित्र पार्किङमा राखिएको से १ झ २४१ नं को गाडीमा आगजनी भएको हो। उक्त गाडी उपमेयरले प्रयोग गर्दै आएका थिए। आगलागीबाट गाडीको पछाडि पट्टिको भाग जलेको छ।
स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएकाले मेयर चढ्ने अर्को गाडी क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
गएको ३१ असारमा धनगढी उपमहानगरपालिका–७ बाट विप्लवका केन्द्रीय सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्यूरो इन्चार्ज पूर्णिमा भन्ने गौरा धामी पक्राउ परेका थिए।