विक्रम न्यौपाने क्रिकेट टोलीको पूर्णकालीन फिजियो नियुक्त, व्यवस्थापकको पनि जिम्मेवारी
नेपाल क्रिकेट संघ (क्यान) ले विक्रम न्यौपानेलाई राष्ट्रिय टोलीको पूर्णकालीन फिजिओ नियुक्त गर्दै समन्वय र व्यवस्थापनको जिम्मा पनि दिएको छ। क्यानले अर्को निर्णय नभएसम्मका लागि व्यवस्थापकको थप जिम्मेवारी दिएको जनाएको छ।
न्यौपाने लामो समयदेखि फिजियोको रुपमा राष्ट्रिय टोलीसँग थिए। तर, उनलाई प्रतियोगिताहरु हुँदा मात्र जिम्मेवारी दिइन्थ्यो। क्यानको ५ साउनको बैठकले उनलाई पूर्णकालीन फिजियो नियुक्त गर्दै अल्पकालीन रुपमा व्यवस्थापकको पनि जिम्मेवारी दिएको हो।
यसअघि क्यानले अन्तर्राष्ट्रिय प्रतियोगिताको केही दिनअघि मात्र व्यवस्थापक नियुक्त गर्ने गरेको थियो। न्यौपानेलाई तत्कालका लागि मात्र व्यवस्थापकको जिम्मेवारी दिइएको क्यान सचिव अशोकनाथ प्याकुरेलले बताए।
उनले भने, “व्यवस्थापक नभएको वेला उहाँ नै राष्ट्रिय टोलीसँग रहने हुनाले खेलाडीको समन्वय र आवश्यकता पूरा गर्न तत्काललाई अतिरिक्त जिम्मेवारी दिइएको हो।” अहिले पनि खेलाडीले कीर्तिपुर मैदानमा व्यक्तिगत रुपमै तयारी गरिरहेकाले समन्वय अभाव भएको उनले बताए।
क्यानले खेलाडीलाई बन्द प्रशिक्षकमा राख्न राष्ट्रिय खेलकुद परिषदसँग करीब तीन साताअघि निवेदन दिएको थियो। तर, राखेपले अहिलेसम्म अनुमति दिएको छैन। अब व्यक्तिगत रुपमा प्रशिक्षणमा आउने खेलाडी र काठमाडौं बाहिरका खेलाडीसँग न्यौपानेले नै समन्वय गर्नेछन्।
क्यानको हिजोको बैठकले व्यवस्थापक नियुक्तिको तयारी थाल्ने निर्णय पनि गरेको छ। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँगको समन्वयमा एक हप्ताभित्र प्रमुख प्रशिक्षक, महाप्रवन्धक, वित्त प्रवन्धक पदपूर्तिका लागि सूचना प्रकाशन गर्ने क्यानको निर्णय छ।
क्यानले यसअघि भारतका दुई र न्यूजिल्याण्डका दुई गरी चार जनासँग प्रमुख प्रशिक्षकका लागि छलफल अगाडि बढाएको थियो। तीमध्ये भारतका लालचन्द राजपुत प्रशिक्षक बन्ने सम्भावना भएको बताइएको थियो। तर, उनलाई जिम्बाब्बेले नै प्रशिक्षकको रुपमा निरन्तरता दिने भएको छ।
क्यान बैठकले मूलपानीस्थित क्रिकेट मैदानमा आवश्यक ६ जना कर्मचारी पनि थप गरेको छ। त्यस्तै पोखरा, भैरहवा र वीरगन्जमा एक एक जना पिच क्युरेटर नियुक्त गर्ने निर्णय पनि गरेको छ।