सभापति देउवा इतर नेताहरुको भक्तपुरमा भेला, 'नेतृत्व पूर्ण असफल भएको निष्कर्ष'
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतर जिल्ला सभापतिहरुको भक्तपुरमा भेला सकिएको छ। भेलामा वर्तमान एवम् पूर्व जिल्ला सभापति, भातृ संगठनका वर्तमान र पूर्व नेतृत्वको सहभागिता थियो।
सभापति देउवा इतरको भेला देशभर चलाउने निर्णय समेत भक्तपुर भेलाले गरेको छ। सोमबार भएको भक्तपुर भेलालाई त्यसको थालनीको रुपमा लिएको जनाइएको छ।
भेलाले पार्टीको वर्तमान नेतृत्व पूर्ण रुपमा असफल भएको निष्कर्ष समेत निकालेको छ। “मुलुकमा नेकपा नेतृत्वको सरकारले गरेको विभिन्न असंवैधानिक कामको विरोध गर्न नसक्नु, भ्रष्टाचार र जातीय विभेदका घटना बढ्दा पनि विरोध गर्न नसक्नु, प्रेस स्वतन्त्रतामाथि आक्रमण हुँदा मौन बस्नु, न्यायालय र संवैधानिक अङ्गलाई समेत आक्रमण गर्दा पनि देउवा नेतृत्वको कांग्रेसले कुनै विरोध नजनाउनु नै नेतृत्व असफलता रहेको” भेलाले निष्कर्ष निकालेको छ।
नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थको सभापतित्वमा सकिएको भेलाले देउवाको बिकल्प खोज्न उनी इतरका आठ नेताले एउटै उम्मेद्वारी दिनुपर्ने निष्कर्ष समेत निकालेको छ। भेलामा २५ जिल्लाका पूर्वसभापति, भ्रातृ सङ्गठनका वर्तमान र पूर्वअध्यक्ष एवं विभिन्न सङ्गठनका पदाधिकारी, पूर्व सांसद लगायत सहभागी थिए।