म कुनै पार्टीको प्रचार गर्दिनँ : आमीर
बलिउड अभिनेता आमीर खानले आफू कुनै पार्टीको प्रचारक नभएको र कुनै पार्टीका लागि काम नगर्ने बताएका छन् ।
आउँदो लोकसभाको चुनावका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत सबैजसो हिन्दी सिनेमाका कलाकारसँग जनतालाई भोट दिन प्रेरित गर्न अपिल गरेका थिए । अभिनेता आमीर खान प्रधानमन्त्री नरेन्द्र मोदीका प्रिय कलाकारमध्ये एक हुन् ।
हरेक वर्ष झैं यस वर्ष पनि आफ्नो जन्मदिनको अवसरमा पत्रकारसँग कुरा गर्दै खानले भने, ‘नरेन्द्र मोदी यस देशका प्रधानमन्त्री हुन् । उनले कसैसँग जनतालाई भोट गर्न प्रेरित गर्न अपिल गर्नु नराम्रो कुरा होइन । सेलिब्रेटीले भनेको कुरा धेरैले मान्दछन् पनि।’
‘मोदीजीले यो मलाई पहिलोचोटि भनेको कुरा होइन, चुनाव आयोगले पनि मलाई कयौँपटक ब्राण्ड एम्बेसडरका रूपमा प्रयोग गरेको छ’, खानले भने, ‘जनता धेरै स्मार्ट छन् । कसरी भोट गर्ने, कस्ता मुद्दामा भोट गर्ने भन्ने उनीहरूले आफै विचार गर्नुपर्छ । समय निकाल्नुहोस्, भोट हाल्नुहोस् ।’
‘तपाईं बीजेपीका लागि प्रचार गर्नुहुन्छ’ भन्ने पत्रकारको जिज्ञासामा खानले भने, ‘म कसैका लागि प्रचार गर्दिनँ ।’
अर्को फिल्म ‘लालसिंह चड्ढा’
आफ्नो नयाँ फिल्मका बारेमा प्रकाश पार्दै आमीरले भने, ‘मैले छिट्टै एक फिल्मको सुटिङ गर्दै छु । यो फिल्मको नाम लालसिंह चड्ढा हुनेछ । म एक सिखको भूमिकामा हुनेछु ।’
उनले यसका लागि २० किलो तौल कम गर्नु पर्ने र यसको तयारी गरिरहेको पनि बताए ।
आमीरको यो फिल्म एकेडेमी अवार्ड विजेता हलिउड ‘फोरेष्ट गम्प’मा आधारित हुनेछ । सन् १९९४ मा बनेको यो फिल्मका लागि अभिनेता टम ह्याग्सले पनि उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए ।
‘फोरेष्ट गम्प’ विन्स्टन ग्रुम लिखित उपन्यास हो । यो उपन्यासमा मन्द बुद्धि भएका व्यक्तिको जीवनको उचारचढाव वर्णन गरिएको छ ।
आमीरको नयाँ फिल्मका निर्देशक अद्वैत चन्दन हुने र फिल्मका पटकथा अतुल कुलकर्णीले लेखिरहेको पनि खानले बताए। -एजेन्सी