शेयर बजारमा तीव्र उतारचढाव, नेप्से परिसूचक घटेर बन्द
कारोबार शुरु भएको दुई मिनेट नहुँदै नेप्से ४ प्रतिशतले बढ्दा २० मिनेट र करीब २२ मिनेटमा ५ प्रतिशतले बढ्दा ४० मिनेट कारोबार स्थगित भएको थियो ।
१२ बजेपछि तेस्रोपटक खुलेको बजारमा भने नेप्से ओरालो लाग्यो । दुई दिनमा नेप्समा उच्च वृद्धि भएपछि लगानीकर्ताले शेयर विक्रीचाप बढाउँदा नेप्से ओरालो लाग्यो र समग्रमा १४ अंक बढीले घटेर १ हजार ४ सय ६४ दशमलव ९४ अंकमा बन्द भएको छ।
कारोबार अवधिभर नेप्से बढेर १ हजार ५ सय ५६ दशमलव २ अंक सम्म पुगेको थियो भने तेस्रोपटक खुलेको बजारमा घटेर १ हजार ४ सय ५८ दशमलव ५१ अंक सम्म झरेको थियो।
सेन्सेटिभ परिसूचक पनि २ दशमलव ८४ अंकले घटेर ३ सय ९ दशमलव ६ अंकमा बन्द भएको छ । सोमबार १ सय ८१ कम्पनीको २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७ सय १५ रुपैयाँको ७० लाख १ हजार २ सय ५८ कित्ता शेयर खरीद विक्री भएको छ।
शेयर बजारमा दुई दिनमै नेप्सेमा उच्च वृद्धि भएको र अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा विक्रीचाप बढ्न गएकाले तीव्र उतारचढाव आएको देखिन्छ।
बजारमा कारोबारमा आएका समूह मध्ये ब्यांकिङ, विकास ब्यांक, फाइनान्स र म्युचुअल फण्ड समूहमा वृद्धि भएको छ । व्यापार, होटल, जलविद्युत, बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, र अन्य समूहमा गिरावट आएको छ।
यस दिन सबैभन्दा धेरै कारोबार एनएमबी ब्यांकको २० करोड १४ लाख ९९ हजार रुपैयाँ बढीको भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया ब्यांक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल ब्यांकको शेयर कारोबार १० कारोड रुपैयाँ भन्दा बढीको भएको छ।
नेप्से ऋणात्मक भएपनि युनाइटेड फाइनान्स, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, स्पर्स लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था र मन्जुश्री फाइनान्सका शेयरधनीले भने झण्डै १० प्रतिशतले गुमाएका छन्।