७५ हजार विपन्न युवालाई याे वर्ष १०० दिनको रोजगारी दिइने
बहुपक्षीय ऋणदाता विश्व ब्यांकसँगको आर्थिक साझेदारीमा सरकारले युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना शुरु गरेको छ । विपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तार गर्न यो आयोजना शुरु गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र नेपालका लागि विश्व ब्यांकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सोमबार कार्यक्रमको शुभारम्भ गरे।
यो कार्यक्रम अन्तर्गत बेरोजगारको सूचना संकलन गरी रोजगारीको सम्भाव्य क्षेत्रसहितको एकीकृत विवरण भएको श्रमिक सूचना ब्यांकसहितको रोजगार व्यवस्थापन सूचना प्रणाली पनि स्थापना गरिनेछ।
विश्व ब्यांकका राष्ट्रिय निर्देशक जर्भोसले चालु आर्थिक वर्षमा सामाजिक र आर्थिक जोखिममा रहेका करीब ७५ हजार गरीब बेरोजगार युवालाई १ सय दिनको रोजगारी दिने बताए । सार्वजनिक पूर्वाधारको मर्मत–संभार तथा स्तरोन्नति कार्यमा परिचालन गरी १ सय दिनको ज्याला उपलब्ध गराउने सरकारको तयारी छ।
नेपाल सरकार र विश्व ब्यांकबीच २०७६ सालमा चार वर्षसम्म रोजगारी सिर्जनाका लागि काम गर्न १२० अमेरिकी डलर (करीब रु. १४ अर्ब) ऋण सहायताको सम्झौता भएको थियो।
प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध गरी यो कार्यक्रम सञ्चालन हुनेछ । यस आयोजनाबाट कुल रकमको करीब ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत–संभार तथा स्तरोन्नति गर्ने कार्य मार्फत रोजगारी सिर्जनामा खर्च गरिनेछ।