मीनबहादुर भामको ‘चिसो वर्ष’ को पटकथाले जित्यो एक करोड
मीनबहादुर भामको निर्माणाधीन चलचित्र ‘चिसो वर्ष’ को पटकथाले टर्कीमा ७५ हजार युरो (करीब रु. १ करोड) पुरस्कार पाएको छ । टर्कीको ‘१२ पुन्टो स्क्रिप्ट ल्याब’ ले यो पुरस्कार दिएको हो।
‘चिसो वर्ष’ को छायांकन यही वर्षको अप्रिल र मे महीनामा गर्ने तयारी रहेकोमा कोरोनाभाइरस महामारीका कारण अर्को वर्षका लागि सरेको छ । यो चलचित्र हिमाली जिल्लाहरुमा प्रचलित बहुपति प्रथामा आधारित छ । तीन जना पतिले छोडेपछि मुख्य पात्र पेमाको जीवनमा आइपरेको कठिनाइलाई चलचित्रको विषयवस्तु बनाइएको छ।
२०७४ सालमा निर्माणको घोषणा भएको ’चिसो वर्ष’ ले दुई वर्षअघि स्विट्जरल्यान्डको लोकार्नो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ६ हजार युरो जितेको थियो।
भामले तीन वर्षअघि बनाएको 'कालो पोथी' ले दर्शक र समीक्षकबाट राम्रो प्रशंसा बटुलेको थियो भने विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएको थियो।