बन्दुकसम्बन्धी नयाँ कानून ल्याउँदै न्यूजिल्याण्ड
५० जनाको ज्यान जानेगरी भएको बन्दुक हमलापछि न्यूजिल्याण्डले बन्दुक सम्बन्धी कानूनमा परिवर्तन गर्ने भएको छ ।
न्यूजिल्याण्डका प्रधानमन्त्री जासिन्दा एर्डेनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा १० दिनभित्र बन्दुकसम्बन्धी कानूनमा सुधार गर्ने धारणा राखेका छन् ।
बन्दुक सम्बन्धी नियममा सुधार गर्ने सम्बन्धमा संयुक्त गठबन्धनका पार्टीहरू न्यूजिल्याण्ड लेबर पार्टी, न्यूजिल्याण्ड फस्ट पार्टी र ग्रीन पार्टीबीच सहमति भएको एर्डेनले मन्त्रिपरिषद्को बैठकपछि भएको एक प्रेस सम्मेलनमा बताएका छन् ।
कानूनमा के–कस्ता सुधार गरिने हो भन्ने बारेमा भने उनले विस्तृत जानकारी दिएका छैनन् ।
गत शुक्रबार मात्र न्यूजिल्याण्डमा क्राइस्टचर्चमा भएको आतङ्ककारी हमलाबाट ५० जना व्यक्तिको ज्यान गएपछि उनले बन्दुकसम्बन्धी कानूनलाई सक्दो छिटो सुधार गर्ने बताएका हुन् ।
क्राइस्टचर्चमा भएको आतङ्ककारी आक्रमणको पनि अनुसन्धान भइरहेको उनले बताएका छन् ।
आक्रमणमा परी थप ५० जना घाइते भएका थिए ।
सो आक्रमणपछि न्यूजिल्याण्डमा पनि चर्च लगायत विभिन्न धार्मिक समूहको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।