बन्दाबन्दीका कारण जोखिममा बालबालिका, सरकारको प्रारम्भिक तथ्यांक भन्छ– बाल मृत्युदर बढ्यो
– सोनिया अवाले र रामु सापकोटा
स्वास्थ्य सेवा विभागको सार्वजनिक भइनसकेको प्रारम्भिक तथ्यांकअनुसार मुलुकमा कोरोना महामारी रोकथामका लागि गरिएको बन्दाबन्दीको अवधिमा बाल मृत्युदर बढेको देखिएको छ।
विभागका अनुसार २०७५ को चैत र २०७६ को वैशाख र जेठ गरी तीन महीनाको अवधिमा मृत्यु हुने पाँच वर्ष मुनिका बालबालिकाको संख्या १५१ थियो।
आर्थिक वर्ष २०७५/७६ को चैतमा ५०, वैशाखमा ५४ र जेठमा ४७ जना बालबालिकाको मृत्यु भएको थियो। तर, यो संख्या २०७६ को चैत र २०७७ को वैशाख र जेठ गरी तीन महीनाको अवधिमा २०४ पुगेको छ।
आर्थिक वर्ष २०७६/७७ को चैतमा ६३, वैशाखमा ६४ र जेठमा ७७ जना बालबालिकाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागको सूचना व्यवस्थापन शाखाका तथ्यांक अधिकृत दिवाकर सापकोटाका अनुसार २०७५/७६ को चैतदेखि जेठसम्म शतप्रतिशत तथ्यांक संकलन भएको थियो।
तर २०७६/७७ मा बन्दाबन्दीका कारण बाल मृत्युसम्बन्धी जम्मा ७८ प्रतिशत मात्र तथ्यांक संकलन भएको उनी बताउँछन्। “पूरा तथ्यांक नआइसकेको अवस्थामा अहिले संकलन भएको प्रारम्भिक तथ्यांकले बालमृत्युदर बढेको देखिन्छ,” उनी भन्छन्।
तथ्यांक अधिकृत सापकोटाका अनुसार पछिल्लो तीन महीनाको तथ्यांक प्रारम्भिक भएकाले बाल मृत्युसम्बन्धी तथ्यांक संकलन र प्रविष्ट(प्रवेश)मा कुनै समस्या भए वा नभएको जाँचेपछि अन्तिम तथ्यांक निकालेर सार्वजनिक गरिनेछ।
स्वास्थ्य सेवा विभागले महिला स्वास्थ्य स्वंयसेविका र स्थानीय स्वास्थ्य संस्थामार्फत बाल मृत्युसम्बन्धी तथ्यांक संकलन गर्दै आइरहेको छ।
परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक गौतम बन्दाबन्दीको अवधिमा बालमृत्यु बढेको देखिएको र बढ्नुको कारणबारे खोजी भइरहेको बताउँछन्। “यदि बन्दाबन्दीका कारण स्वास्थ्य लगायतका अन्य सेवा नपाएर बालमृत्यु बढेको हो भने सरकारी कार्यक्रममार्फत समाधान गर्नुपर्छ,” गौतम भन्छन्।
उनका अनुसार बन्दाबन्दी शुरु भएको २०७६ को चैत महीनाको अवधिमा मुलुकभरका १६ हजार खोप केन्द्रमध्ये आठ हजार मात्र सञ्चालन भएका थिए।
उनी २०७७ को वैशाखमा करीब १० हजार र जेठमा १२ हजार खोप केन्द्र सञ्चालन भएको बताउँछन्। गौतम गएको चैतमा आधा मात्र खोप केन्द्र सञ्चालन हुनुको कारण बन्दाबन्दी भएको बताउँछन्।
“छुटेकाहरुलाई १५ महीनाभित्र खोप दिन सकिने भएकाले बन्दाबन्दीका कारण खोप लिन नपाएकालाई खोजेर भए पनि सेवा दिनेछौँ,” उनी भन्छन् ।