विश्व संगीतमा नेपाली कर्टिस वाटर्सको सनसनी
–कशिशदास श्रेष्ठ (सान फ्रान्सिस्को)
यतिखेर संसारको कुनै कुनामा कोही न कोही नेपालमा जन्मेका कर्टिस वाटर्सको गीत सुन्दैछन् । र, यो गीत सम्भवतः जिब्रोमा झुन्डिरहने स्टनिन् हुनुपर्दछ।
दुई महीना पनि बित्न नपाउँदै यो गीत २.५ करोड पटक सुनिसकिएको छ र विश्वका विभिन्न रेडियो फर्म्याटको शीर्ष ४० भित्र उक्लिरहेको छ । जून महीनाकोे रोलिङ स्टोन म्यागेजिनको उदाउँदो २५ चार्टमा तीन नम्बरमा यही गीत छ।
दुई साताअघि यो गीत मर्सिडिज बेन्जको विज्ञापनमा देखा पर्यो । वाटर्सको लागि सबै थोक तीव्र गतिमा भइरहेका छन्, जो काठमाडौंमा अभि बस्ताकोटीका रूपमा जन्मिएका थिए जतिबेला इन्टरनेटको प्रयोग एकदम थोरै थियो।
जर्मनी र उत्तर अमेरिकामा उनी अनलाइन तथा सामाजिक संजालमा नै हुर्किए । अहिले २० वर्षका उनी इन्टरनेटमा बाँचिरहेका मात्र छैनन्, एक सनसनीका रूपमा उदाएका छन्।
“यो वर्ष रिलिज भएका गीतमध्ये स्टनिन् सबैभन्दा छिटो चर्चाको शिखरमा पुगेको छ”, कर्टिस वाटर्सलाई संयोगले भेट्टाएका र अहिले उनको म्यानेजर रहेका क्रिस आनोकुट भन्छन्, “बजारमा कुनै गीत स्थापित हुन २० देखि २५ हप्ता लाग्छ, र कलाकार स्थापित हुन अर्को ६ देखि ९ महीना। यी शुरूआती दिन हुन्, हामी एकदमै उत्साहित छौं।”
आनोकुटलाई थाहा छ । किनभने उनी अमेरिकी संगीत उद्योगको प्रमुख कम्पनी एएण्डआर का कार्यकारीमध्येका एक थिए जो युवा कलाकार केटी पेरी, इगि अजेला र रिहाना समेतलाई दिगो सफलता दिलाउने कार्यमा संलग्न थिए।
जब आनोकुटले वाटर्सको फ्राकल्स सुने, उनी मन्त्रमुग्ध भए । “त्यो गीतले मलाई तीनछक्क पारिदियो”, उनी सम्झन्छन्।
उनलाई लाग्यो, संसारले चिन्नुपर्ने कलाकारलाई उनी सुनिरहेका छन् । उनले तत्काल सम्पर्क गरे । योभन्दा उपयुक्त समय अरू हुन पनि सक्तैनथ्यो।
स्टनिन् रिलिज भइसकेको थिएन, ६ महीना भन्दा बढी यसमा काम गरिसकेपछि वाटर्सले यसका केही झलक भने टिकटकमा राख्न थाले । यसलाई भाइरल हुन धेरै समय लागेन । वाटर्सलाई रेकर्ड कम्पनीहरूको अफरको बाढी त्यतिबेलै आएको थियो।
“ती तीन हप्ता एकदमै तनावपूर्ण रहे”, विभिन्न रेकर्ड कम्पनीको प्रस्ताव एकैचोटि हेरेर छान्नुपर्दा, वाटर्स सम्झन्छन् । “क्रिस विना म यो पार लगाउनै सक्दिनथें । मलाई संगीत बनाउन र रमाइलो गर्न मन पर्छ । तर, व्यावसायिक पाटोपट्टि उनले मलाई धेरै नै सहयोग गरे।”
अन्त्यमा, वाटर्सले स्वतन्त्र रहने निर्णय गरे र यङ फरेभरसँग सम्झौता गरे, जुन आनोकुटको कलाकार व्यवस्थापन कम्पनी हो । यो सम्बन्धको पहिलो काम थियो–स्टनिन् को रिलिज।
२० डिसेम्बर १९९९ मा काठमाडौंमा जन्मेका वाटर्स बुवा आमासँग जर्मनी बसाइँ सर्दा जम्मा चार वर्षका थिए । त्यसपछि परिवार क्यानाडा पुग्दा उनी १० वर्षका । उनका बुवा वातावरण विज्ञानमा विद्यावारिधि हुन् भने आमासँग दुईवटा स्नातकोत्तरको प्रमाणपत्र छ र उनी भौगोलिक सूचना प्रणाली सम्बन्धी काम गर्छिन्।
चार वर्षको हुँदा विदेशिएका वाटर्स त्यसको एक दशकपछि फर्किए, त्यो पनि आफ्नो व्रतबन्धका लागि । नेपालमा बसाइँका तीन महीनाले नै उनको बाटो परिवर्तन गरिदियो।
चितवन र पोखराको यात्रामा वाटर्स रमाए तर खराब इन्टरनेटका साथ काठमाडौंमा बस्नु पर्दा उनी हतासिए । एकदम फरक जीवनशैली, समय भिन्नताका कारण क्यानाडामा रहेका साथीहरूसँग कुरा गर्न नसक्नाले उनलाई सताइरहेको थियो ।
हुँदाहुँदा एकाएक लामो दूरीको सम्बन्धका कारण उनकी केटी साथीले पनि उनलाई धोका दिइन्, अर्कोसँग लुकेर सम्बन्ध गाँस्न थालिन्।
“मलाई एकदमै दिक्क लाग्थ्यो, डिप्रेसन पनि भइरहेको थियो”, उनी सम्झन्छन्, “मसँग प्रशस्त समय थियो, यहीवेला मैले संगीत कसरी रचना गर्ने भनेर सिक्न थालें।”
त्यसयता वाटर्स रोकिएका छैनन् । यदि स्टनिन् परिपक्व कलाकारको काम जस्तो सुनिन्छ भने त्यसको कारण हो, वाटर्सले आफ्ना किशोरवयमा उँचाइमा पुग्न गरेको मिहिनेत– एउटा कलाकारका रुपमा पनि अनिपप–पंक र पप, र्यापको उत्सुक श्रोताका रूपमा पनि।
पछिल्ला चार वर्षहरूमा, वाटर्सले आफ्नो संगीत र जीवनमा डिजिटल छापहरू छाडेका छन् । उनका गीतहरू उनी किशोर हुँदा लेखिएका हुन् र तिनीहरूले जीवनको त्यही समयका भाव व्यक्त गर्छन्।
सांगीतिक रुपमा उनलाई विधाहरू उति महत्वपूर्ण लाग्दैनन् । धुनलाई उनी चलाखीपूर्ण हिसाबले सामान्य र प्राकृतिकजस्तो बनाउँछन् । शैलीका हिसाबले आफू बाँचिरहेको समयमा उनलाई प्रभाव पार्ने थुप्रै गीत छन्।
वाटर्सका ७० प्रतिशत श्रोता २७ वर्ष मुनिका हुनु अचम्मको कुरा होइन, त्यसमा पनि ६५ प्रतिशत त महिला छन् । उनलाई पछ्याउनेमा तीव्र गतिमा नेपालीहरू पनि छन् । र, जसै नेपालीहरू उनलाई फेला पार्दैछन्, उनी आफ्नो नेपाली मूल बारे थप जान्ने प्रयास गरिरहेका छन्।
“नेपाल छोड्दा म यति सानो थिएँ कि आफ्नोे संस्कृतिका धेरै चिज अनुभव गर्नबाट छुटें । तर, अहिले म आफ्नो मूलसँग जोडिने यात्रामा छु र यसो गरिरहँदा मलाई आनन्द आइरहेको छ”, वाटर्स भन्छन्।
वाटर्स नयाँ नेपाली संगीतको परिदृश्यसँग अवगत छैनन् । तर, नेपाली संगीतमा आफ्नो रोजाइबारे भने उनी स्पष्ट छन्, “मलाई नारायणगोपाल मन पर्छ, उनी मेरो सबैभन्दा मनपर्ने नेपाली कलाकार हुन् । जुन फूल मैले चाहेको थिएँ मलाई सबैभन्दा बढी मन पर्ने नारायणगोपालको गीत हो अनि गाउँ गाउँबाट उठ सबैभन्दा बढी मन पर्ने नेपाली गीत।”
हालै उनी इन्स्टाग्राम लाइभ गर्दै थिए, एक्कासी रामेशको क्रान्तिकारी गाउँ गाउँबाट उठ को कोरस गाउन थाले र संसारभर रहेका उनका दर्शकले उनलाई हौसला प्रदान गरे । “मेरो गीत सिस्टम सुनेर श्रोताले त्यस्तो क्रोध महशुस गरुन् जस्तो गाउँ गाउँबाट उठ सुन्दा हुनेगर्छ भन्ने मेरो चाहना थियो”, उनले थपे।
वाटर्स हाल सेप्टेम्बरमा रिलिज हुन लागेको अल्बमको तयारीमा व्यस्त छन् । अल्बम ग्रीन्सबोरोस्थित उनको कलेज युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको होस्टेलमा रेकर्डिङ गरिएको थियो।
फ्राकल्स जुन गीतले आनोकुटलाई वाटर्सतिर तान्यो, त्यो गीत भने अल्बमअघि नै रिलिज हुँदैछ । अलि परिपक्व श्रोताले यो गीतमा करीब एक दशक अघिका रेडियोमा हिट पप गीतहरूको अंश पनि पाउन सक्लान् । वाटर्सको इमानदार उदासीनतासँग युवा मनको मेल खानसक्छ।
गएको तीन महीनामा वाटर्सको जीवनमा धेरै परिवर्तन आएको छ । सबै अनौठो भइरहेको छ।
वाटर्स जब नर्थ क्यारोलिनाको ट्रपिकल स्मुथी पसलमा काम गर्थे, एकादुई विद्यार्थीले उनलाई भर्खरैको अनलाइन उपस्थितिका कारण आक्कलझुक्कल चिन्दथे । तर, गुमनाम जीवन अब उनका लागि विगत बनिसकेको छ।
“सब अनौठो भइरहेको छ । अचेल म बाहिर जाँदा मानिसहरू मतिर आउँछन् । जब परिवारसँग हुन्छु म अभि मात्र हुन्छु। इन्टरनेटमा म कर्टिस वाटर्स हुन्छु । यो मेरो दिमागमा रहेको पात्र हो” उनी भन्छन्, “म हरेक पटक बाहिर जाँदा राम्रो देखिनुपर्ने अवस्था छ।”
अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा सफलताको यो उँचाइमा पुग्ने वाटर्स नेपालमा जन्मेका पहिलो कलाकार हुन्, जसबाट वाटर्स स्वयं गौरवान्वित छन् । तर, बल्ल अल्बमको तयारी गरिरहेका उदाउँदो तारा वाटर्सका लागि यो एक झिल्को मात्र हुनुपर्छ।
“केटी पेरीको आई किस्ड ए गर्ल अल्बम लञ्च गर्नु र अहिलेको यो अनुभूति मेरा लागि उस्तै हो । समय १२ वर्षपछिको हो, तर कथा उही, लोकप्रियताले झूट बोल्दैन”, आनोकुट भन्छन्, “स्टनिन् टिकटक सनसनी हो, तर कर्टिस सनसनीभन्दा धेरै हुन् । उनी यहाँ स्थापित हुन आएका हुन्।”