'पर्यटन क्षेत्र उत्थान गर्ने मौद्रिक नीति'
पर्यटन क्षेत्रले मौद्रिक नीतिलाई कोरोनाभाइरस (कोभिड –१९)ले थलिएको व्यवसाय उकास्ने गरी आएको जनाएको छ।
पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले ४ साउन (आइतबार) जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड–१९का कारण जारी लकडाउनले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रलाई मौद्रिक नीतिले राहत दिने घोषणा गर्नु स्वागत योग्य भएको उल्लेख छ।
नाट्टाका महासचिव सुधिरकुमार उपाध्यायद्वारा जारी विज्ञप्तिमा मौद्रिक नीतिमा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहमा प्राथमिकता दिइएको र पर्यटन क्षेत्रले लिएको ऋणको साँवा र व्याज पुस मसान्तसम्म भुक्तानी गर्ने व्यवस्था गर्नु सकारात्मक भएको जनाएकाे छ।
असार महीनासम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिट लगायत अल्पकालीन प्रकृतिका चालु पुँजी कर्जाहरुलाई अवस्था विश्लेषणको आधारमा ब्यांकहरुले २०७७ पुस मसान्तसम्म भुक्तानी म्याद थप्न सक्ने व्यवस्था सो मौद्रिक नीतिमा उल्लेख गर्नु सकारात्मक भएको जनाएकाे हाे।
ऋणको भाका सार्ने, थप ऋण उपलब्ध गराउने, चालु पुँजी संचालन लगायतका ऋण अधिकतम ५ प्रतिशत व्याजमा उपलब्ध गराउने जस्ता नाट्टाले गरेका मागहरु मौद्रिक नीतिमा समेटिएकाले यसलाई सकारात्मक रुपमा लिएको पनि उल्लेख छ।
मौद्रिक नीतिमा धेरै जसो पर्यटन क्षेत्र पुनरुत्थानका लागि आवश्यक विषयहरु समेटिएकाले यसको समानुपातिक कार्यान्वयन गर्न पनि नाट्टाले माग गरेको छ।