एफए कपः आर्सनल सामु म्यानसिटी स्तब्ध, फाइनल पुग्न चेल्सी र युनाइटेडको भिडन्त आज
इङ्लिस प्रिमियर लिगपछि इंग्ल्याण्डको अर्को प्रतिष्ठित फुटबल प्रतियोगिता इमिरेट्स एफए कपमा पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीलाई मिकेल आर्टेटाको आर्सनलले स्तब्ध पारेको छ।
गए राति सम्पन्न एफए कपको पहिलो सेमिफाइनलमा आर्सनलले सिटीलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
वेम्ब्ली स्टेडियममा भएको खेलमा आर्सनलका लागि दुवै गोल पियरी इमिरेक अबामेयाङले गरे। र, सबभन्दा रोचक पक्ष चाहिँ चेलाको टिमले गुरुको टिमलाई स्तब्ध पार्यो।
आर्सनलका प्रशिक्षक आर्टेटा गत सिजनसम्म सिटीमा ग्वार्डिओलाका असिस्टेन्ट थिए। आर्सनलले गत सिजनको बीचमै प्रशिक्षक उनाई इमिरेलाई बर्खास्त गरेपछि आर्टेटाले आर्सनलको नेतृत्व सम्हालेका थिए।
आर्सनलसँग पराजित हुँदै एफए कपबाट बाहिरिएपछि ग्वार्डिओलाले आफ्नो टिमले राम्रो खेल्न नसकेको प्रतिक्रिया दिए। लगातार दुई सिजन इङ्लिस प्रिमियर लिग उपाधि जितेको सिटीले यो सिजन दोस्रो स्थानमा रहेर लिग टुंग्याउँदैछ।
त्यसैगरी एफए कपको फाइनल पुग्न आज प्रिमियर लिगकै प्रतिद्वन्द्वी क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडबीच भिडन्त हुँदैछ। वेम्ब्ली स्टेडियममै हुने यो खेल नेपाली समयअनुसार राति पौने ११ बजे शुरु हुनेछ।
चेल्सी र युनाइटेड प्रिमियर लिगमा शीर्ष चार भित्र रहन संघर्षरत छन्। दुई खेल बाँकी रहँदा चेल्सी तेस्रो स्थानमा छ भने युनाइटेड पाँचौं स्थानमा छ। दुवै टिमबीच जम्मा १ अंकको अन्तर छ