सर्किट ब्रेक लागेर शेयर बजारमा कारोबार स्थगित
शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले बढ्दा आजका लागि कारोबार स्थगित भएको छ।
बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसूचक नेप्से ६.०४ प्रतिशत अर्थात् ८४.२६ अंकले बढ्दा तेस्रो पटक सर्किट लागेर कारोबार स्थगित भएको हो । बजार खुलेको ६ मिनेटमा ४ प्रतिशतले नेप्समा वृद्धि हुँदा पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ११ बजेर २७ मिनेटमा खुलेको बजार ३७ सेकेण्ड कारोबार हुँदा ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार स्थागित भएको थियो । तेस्रो पटक कारोबार खुलेको केही सेकेण्डमै पुनः ६.० चार प्रतिशतको वृद्धि हुँदा शेयर कारोबार आजका लागि स्थगित भएको हो।
नेप्से परिसूचक १ हजार ४ सय ७९ दशमलव शून्य ३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ५.८९ प्रतिशत अर्थात् १७.३९ प्रतिशतले बढेर ३ सय १२ दशमलव ४४ अंकमा बन्द भएको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले शेयर बजारलाई फाइदा हुने गरी व्यवस्था गरेपछि आज लगानीकर्ता उत्साहित भएका हुन् । जसको असर नेप्से सूचकमा परेको छ । बजार खुल्ने बित्तिकै ब्याङ्किङ समूहको शेयरमा लगानीकर्ता झुम्मिएका थिए । त्यसैले ब्याङ्किङ समूह ७.४४ प्रतिशतले बढेको छ । जीवन बीमा समूह पनि ६.६८ प्रतिशतले बढेको छ।
आज १११ कम्पनीको ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार ५ सय ९६ कित्ता शेयर खरीद–बिक्री भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रु.२ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया, नबिल ब्याङ्क, नेपाल इन्भेष्टमेन्ट ब्याङ्क लगायत एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।