भीटीएम अभावले कोरोनाभाइरस परीक्षणका लागि स्वाब सङ्कलन सुस्त
पीसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भीटीएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा कोरोनाभाइरस परीक्षणका लागि स्वाब सङ्कलन सुस्त भएको छ।
बर्दिवासमा जिल्ला स्वास्थ्य कार्यालयले भीटीएम नहुँदा स्वाब संकलन नै गर्न नसकिएको सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा शनिबार जानकारी दिएको हो। तत्काल पीसीआर परीक्षण गरिनुपर्ने व्यक्तिहरु भए पनि भीटीएम नहुँदा स्वाब संकलन गर्न नसकिएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए।
पछिल्ला केही दिनदेखि स्वाब सङ्कलन रोकिएकै अवस्थामा पुगेको झाको भनाइ छ। जिल्लामा गत चैत तेस्रो सातादेखि क्रमशः क्वारेन्टिन केन्द्रहरु सञ्चालनमा आएका थिए। जेठ दोस्रो सातातिर भारतबाट फर्कनेको सङ्ख्या ह्वात्तै बढ्दा असार लाग्दासम्म क्वारेन्टिन केन्द्रमा बस्नेको सङ्ख्या चार हजारसम्म पुगेको थियो।
यद्यपि यो सङ्ख्या अहिले घटेर २८८ मा झरेको कार्यालयले जनाएको छ। जिल्लामा ९५ सम्म पुगेका क्वारेन्टिन केन्द्र पनि अहिले ३२ मा झरेका छन्।
केन्द्रमा १४ दिन बसेर थप लक्षण नदेखिएपछि होम क्वारेन्टिनमा जाने बढेपछि र सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बिरामी गएपछि केन्द्रमा सङ्ख्या घटेको हो। जिल्लामा ३ असारसम्ममा तीन हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको कार्यालयले जनाएको छ। तीमध्ये ८१० को पोजेटिभ र दुई हजार ६७० को नेगेटिभ नतिजा आएको छ। १२५ को नतिजा प्राप्त हुन बाँकी छ।
भारतसँग खुला सीमाका कारण सङ्क्रमण सन्त्रास कायमै छ। असारदेखि नै बन्दाबन्दी क्रमशः खुकुलो बनाइँदा बजारमा भीडभाड बढेको कारण पनि जोखिम कायमै रहेको झा बताउँछन्।