कोरोनाको जोखिम देखाउँदै सर्वोच्चले छाड्यो मापसे गरी सवारी चलाएर महिलाको ज्यान लिने अभियुक्त
बुढानीलकण्ठमा अत्यधिक मदिरा सेवन गरी सवारी चलाएर महिलाको ज्यान लिएको घटनाका अभियुक्त पृथ्वी मल्ललाई थुनामा राख्दा कोभिड-१९ संक्रमणको जोखिम रहेको भन्दै सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दियो।
सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतको आदेश उल्ट्याउँदै मादक पदार्थ सेवन गरी सवारी चलाएर महिलाको ज्यान लिएका अभियुक्तलाई धरौटीमा थुनामुक्त गरेको छ।
३१ असारमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले सो घटनाका अभियुक्त पृथ्वी मल्ललाई थुनामुक्त गर्न आदेश दिएको हो ।
काठमाडौंको बुढानीलकण्ठमा मल्लले अत्यधिक मदिरा सेवन गरी चलाएको कारको ठक्करबाट २०७६ मंसीरमा लीला देवकोटाको ज्यान गएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपककुमार दाहालले तत्काल प्राप्त प्रमाणबाट मल्ल निर्दोष होइनन् भन्ने विश्वास गर्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए।
मादक पदार्थ सेवन गरी सतर्कता नअपनाई चलाएको कारको ठक्करबाट निर्दोष व्यक्तिको ज्यान गएको भन्दै अदालतले उनलाई थुनामै राख्नुपर्ने निर्णय गरेको थियो । उक्त आदेशलाई मल्लका वकीलले उच्च अदालत पाटनमा चुनौती दिएका थिए। तर, उच्च अदालत पाटनले पनि उनलाई थुनामै पठाउनुपर्ने ठहर गरेको थियो।
त्यसविरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै न्यायाधीशद्वय मल्ल र शर्माको इजलासले मल्ल डिप्रेसन र दमको बिरामी रहेको तथा कोभिड–१९ को उच्च जोखिममा रहेको बताउँदै रु.५ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो।
यस्तो थियो घटना
अध्ययनका लागि अघिल्लो वर्ष अमेरिका गएका गोठाटार, काठमाडौंका २१ वर्षीय पृथ्वी मल्ल २३ मंसीर २०७६ मा स्वदेश फर्किएका थिए।
त्यसको तीन दिनपछि २७ मंसीरमा उनी आफैंले बा १४ च ६१२३ नम्बरको कार चलाई साथी करिश मास्केलाई लिएर नक्साल नारायणचौरमा रहेको जिम हलमा गए।
त्यहाँबाट साँझ साढे ७ बजेतिर बालुवाटारस्थित पलेन्ज गार्डेन रेष्टुराँमा पुगेर खाना खाए । ९ बजे ठमेलस्थित केसिज रेष्टुराँमा साथी भेट्न गएका उनीहरू त्यहाँबाट रातको साढे १ बजे एलओडी क्लबमा पुगे । त्यसपछि बिहान साढे ४ बजे ठमेलस्थित सेनेठ क्लबमा करिशका दुई जना केटी साथीहरू परमिता राणा र मनिषालाई भेटे।
प्रहरीमा दिएको बयानअनुसार त्यसपछि उनीहरू बिहानको ५ बजे बुढानीलकण्ठ हुँदै ग्रिनभ्याली रिसोर्ट पुगे । त्यहाँ गएर पनि निरन्तर मदिरा सेवन गरेका उनीहरू चढेको कारले त्यहाँबाट पुनः घरतर्फ फर्कंदा सडकको विपरीत दिशामा फुटपाथमा हिंड्दै गरेकी लीला देवकोटालाई ठक्कर दियो।
देवकोटाको मृत्यु भयो।
प्रहरीमा मल्लले रातभरको अनिद्राले झ्याप्प निदाएपछि आफूले चलाएको कार अनियन्त्रित भई सडकको पल्लो छेउमा हिडिरहेकी बटुवालाई ठक्कर दिन पुगेको बयान दिएका थिए।
मदिरा सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएका कारण निर्दोष पैदल यात्रीको ज्यान गएको उक्त घटनालाई प्रहरीले सरकारी वकील कार्यालय मार्फत अदालत पुर्यायो।
काठमाडौं जिल्ला अदालतमा भने पृथ्वीले बयान फेरे– आफूले मादक पदार्थ सेवन नगरेको, एक गियरमा १५-२० किमी प्रति घण्टाको गतिमा चलाएको कार अचानक स्टार्ट बन्द भएको, स्टेयरिङ जाम भएको र ब्रेक पनि नलागेकाले दुर्घटना भएको बताए।
आफूसँग कारको नेपाली ड्राइभिङ लाइसेन्स नभएको र अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्सका आधारमा मात्र आफूले सवारी हाँकेको बयान दिए।
घटनाको लगत्तै प्रहरीले चिरायु अस्पतालमा उनको स्वास्थ्य जाँच गराएको थियो । स्वास्थ्य परीक्षण प्रतिवेदनमा ‘अल्कोहल ब्रेथ टेस्ट, पोजिटिभ’ लेखिएको थियो । मल्लले उक्त प्रतिवेदन झूटो भएको दाबी गरे पनि अदालतले घटनास्थलका सीसीटीभी फुटेज, र अन्य प्रमाणका आधारमा मल्लको बयान विश्वासिलो नभएको ठहर्यायो।
साथै उनका साथी करिश मास्केले ठमेलमा भेट भएका परमिता राणा र मनिषालाई दुर्घटनापछि कारबाट निकालेर पठाएको र आफूहरू त्यहीं बसेको बयान दिएका थिए।
ग्रिनभ्याली रिसोर्टका सुरक्षागार्डले पनि चारै जना व्यक्तिहरू मादक पदार्थ सेवन गरी आएको बयान दिएका थिए।
यसको आधारमा काठमाडौं जिल्ला अदालतले मल्लका कारण मानव जीवनको क्षति भएको, क्षति पुग्ने व्यक्ति निर्दोष रहेको र चालकले पर्याप्त सतर्कता नअपनाई लापरवाही गरेका कारण उनलाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा पठाउने आदेश २३ पुस २०७६ मा गर्यो।
अदालतले थुनामा पठाए पनि केही समय थुनामा बसेका मल्ल पछि बिरामी भएको भन्दै अस्पतालसमेत बसेका थिए । आफू थुनामा बस्नु नपर्ने माग गर्दै उनले उच्च अदालत पाटनमा निवेदन दिएपनि उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गर्यो । त्यसपछि मल्ल सर्वोच्च अदालत गए ।
कोभिड–१९ को जोखिम भएकाले छाड्नू: सर्वोच्च
३१ असारमा सर्वोच्च अदालतका दुई जना न्यायाधीशहरू सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले कोभिड–१९ महामारीको जोखिम देखाउँदै मल्ललाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ।
सर्वोच्चले लगनखेलस्थित मानसिक अस्पतालको ओपीडी बूक र डिस्चार्ज समरी हेर्दा मल्ल डिप्रेसनको बिरामी रहेको देखिएको र चिरायु अस्पतालको मेडिकल रिपोर्टबाट उनी दमको पनि बिरामी रहेको देखिएको भनेको छ।
कोरोनाभाइरस संक्रमणको महामारीको अवस्थामा दमको बिरामी उच्च जोखिमपूर्ण समूहमा रहेको देखिएको, उनी भागेर कतै जाने वा प्रमाण नष्ट गर्नसक्ने अवस्था पनि नदेखिएको भन्दै सर्वोच्च अदालतले उनलाई थुनामा पठाउने जिल्ला र उच्च अदालतका आदेशहरुरू बदर गरिदिएको हो।
प्रहरीले मल्ललाई ३ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ । मल्ल सर्वोच्च अदालतले मागेको ५ लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् । अब उनले थुनामा नबसीकनै मुद्दा लड्न पाउने छन्।
कार्पेट काराखानामा काम गर्ने लीलाका श्रीमान, दुई छोरी र एक जना छोरा छन् । श्रीमान पनि कार्पेट कारखानामै काम गर्छन् । कान्छा छोरा स्कूल पढ्दै छन् भने माइली छोरीले प्लस टु सकेकी छन् । जेठी छोरी विदेशमा छिन्।