सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरीसँग गोली हानाहान गर्ने दुई तस्कर घाइते
सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक १ साउन राति नेपाल प्रहरी र भारतीयसहितका तस्कर समूहबीच गोली हानाहान भएको छ। गोली लागी दुई तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव छन्। दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।
भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको थापाले बताए। प्रहरीले उनीहरुको हतियार खोस्न थालेपछि भारतीय समूहले गोली चलाएको थियो।
प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ। तीन जना भारततर्फ फरार भएको र खोजी भइहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते र फरार भएकाहरु तस्करी, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायतमा संलग्न रहेको प्रहरीको भनाइ छ।