रियल मड्रिड बन्यो च्याम्पियन, बार्सिलोनाको अनपेक्षित हार
स्पेनिस ला लिगाको उपाधि ३४औं पटक रियल मड्रिडले जितेको छ। बिहीबार राति सकिएको खेलमा भिल्लारियललाई पराजित गरेसँगै रियलले उपाधि जितेको हो।
बर्सिलोनासँग कडा प्रतिश्पर्धामा रहेको रियलले एक खेल बाँकी रहँदै उपाधि जित्यो। कोरोना महामारीले स्थगित भएर पुनः बिना दर्शक खेलाइएकाे लिगमा लगातार आठौं जित निकोल्दै रियलले उपाधि जितेको हो।
अघिल्लो दुई सिजन तेस्रो स्थानमै चित्त बुझाउनु परेको मड्रिडले यसपटक बार्सिलोनालाई सात अंकले पछि पार्दै उपाधि जित्यो। रियलले ३७ खेलबाट ८६ अंक जोडेको छ। उपाधि जित्न रियलले भिल्ला रियललाई दुई–एक गोल अन्तरले पराजित गरेको छ।
खेलको २९औं मिनेटमा करिम बेञ्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफ रियलले लिएको अग्रता दोस्रो हाफमा दोब्बर बनायो। दोस्रो हाफमा ७७औं मिनेटमा बेञ्जिमाले पेनाल्टी गोल गरेका थिए।
भिल्ला रियलका खेलाडीले सर्जियो रामोसलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो। ८३औं मिनेटमा भिल्लारियलले सान्त्वना गोल गरेपनि हार टार्न सकेन। जितसँगै रियल यो सिजनको च्याम्पियन बनेको छ।
अघिल्लो सिजनका उपाधि विजेता बार्सिलोना भने यसपटक रनरअपमै सीमित बनेको छ। बार्सिलोनाले पनि एक खेल खेल्न बाँकी रहेपनि रनरअप निश्चित भइसकेको छ। बार्सिलोना भने बिहीबार राति ओसासुनासँग भने अनपेक्षित पराजित भएको छ। दश खेलाडीमा सीमित ओसासुनासँग बार्सिलाेना २-१ गाेल अन्तरले पराजित भयाे।
पहिलाे हाफमै ओसासुनाले एक गाेलले अग्रता लिएकाे थियाे। दाेस्राे हाफकाे ६२औं मिनेटमा लियाेनल मेसीले गाेल गर्दै बराबर बनाए। ७७औं मिनेटमा ओसासुना दश खेलाडीमा सीमित बनेकाे थियाे। तर, थपिएकाे अतिरिक्त समयमा गाेल गर्दै ओसासुनाले जित निकाल्याे।