सलहले अन्डा र बच्चा पार्ने क्रम नरोकेपछि नेपालमा असोजसम्म जोखिम
नेपालमा अझै दुई महीनासम्म सलहको जोखिम रहनसक्ने देखिएको छ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवम् सरकारद्वारा गठित प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईका अनुसार भारतको राजस्थानमा सलहले अहिले पनि अन्डा र बच्चा पार्ने क्रम जारी रहेकाले आगामी डेढदेखि दुई महीनासम्म सलहका झुण्डहरू नेपालमा आउन सक्ने सम्भावना रहेको छ।
“राजस्थान क्षेत्रमा जहिलेसम्म यसको वंश वृद्धि भइरहन्छ, त्यतिवेला सम्म नेपालमा यसको जोखिम छ,” हुमागाई भन्छन् “अहिले पनि सलहको वंश वृद्धिको प्रक्रिया जारी छ। बच्चा वयष्क हुनलाई अझै एक महीना लाग्छ। सेप्टेम्बरसम्मै आउने खतरा छ, त्यसपछि त नेपालमा चिसो पनि बढ्छ।”
हुमागाईका अनुसार राजस्थानलगायत अफ्रिका र पाकिस्तानमा समेत अहिले पनि सलहले बच्चा पार्ने क्रम जारी छ। संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य कार्यक्रमका अनुसार मरुभूमिमा सलहका लागि अन्डा पार्ने अनुकूल हावापानी भएकाले सलहको संख्या अत्यधिक वृद्धि भएको हो।
गतवर्ष भन्दा यसवर्ष सलहको संख्या ४ सय गुणाले वृद्धि भएको अनुमान छ। मरुभूमिमा पटकपटक पानी परेकाले अन्डा पार्न सलहका लागि उपयुक्त वातावरण भएको हुमागाई बताउँछन्।
मरुभूमिमा सलहका लागि आहाराको कमी भएपछि आहाराको खोजीमा सलहका विभिन्न झुण्डहरू नेपाल प्रवेश गरेको हुमागाईले बताए। अहिलेसम्म गरिएको अध्ययनमा नेपाल प्रवेश गरेका झुण्डहरू वयष्क हुन्। हुमागाईका अनुसार राजस्थानबाट दिल्ली र विहारसम्म आएका सलहका झुण्डहरू अन्डा पार्नका लागि राजस्थान फर्कने क्रममा हावाको चापसँगै नेपाल प्रवेश गरेका हुन्।
नेपालमा १३ असारदेखि अहिलेसम्म तीनपटक सलहका विभिन्न झुण्डहरू प्रवेश गरिसकेका छन्। पछिल्लोपटक बुधबार बाँकेको नरैनापुरबाट प्रवेश गरेको सलहको झुण्ड, सुर्खेत र कञ्चनपुर पुगेको छ।
शनिबारदेखि पुनः दक्षिण पश्चिम हावाको चाप वहने भएकाले सलहका थप झुण्डहरू नेपाल भित्रिन सक्ने भन्दै सतर्क रहन प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले आग्रह गरेको छ।