चार हजार नेपाली कार्यरत मलेशियाको पन्जा उत्पादक कम्पनी टप ग्लोभमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाको भन्सार तथा सीमा सुरक्षा कार्यालयले विश्वकै सबैभन्दा ठूलो भनिएको सर्जिकल पन्जा उत्पादन गर्ने कम्पनी 'टप ग्लोभ'ले उत्पादन गर्ने सामग्री आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
भन्सार तथा सीमा सुरक्षा कार्यालयले बुधबार मलेशियाको टप ग्लोभ कम्पनीले उत्पादन गरेका पन्जाको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उक्त कम्पनीले कामदारलाई उनीहरूको चाहनाविपरीत जबरजस्ती काममा लगाएका कारण भन्सार तथा सीमा सुरक्षा कार्यालयले सामग्री आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हुन सक्ने जनाएको छ।
कार्यालयले टप ग्लोभमाथि प्रतिबन्ध लगाउनुको खास कारण खुलाएको छैन।
यो पनि पढ्नुहोस्-कोरोना महामारीः मलेशियामा नेपाली कामदार संक्रमणको जोखिममा, तलब नपाएकाहरु अलपत्र
कोरोनाभाइरसको महामारी फैलिरहेका बेला सर्जिकल पन्जा र अन्य सुरक्षा सामग्रीहरूको माग आकासिएका बेला टप ग्लोभका सामग्री आयातमा प्रतिबन्ध लगाउने निर्णयपछि अमेरिकालाई नै प्रभाव पार्ने बताइएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खासगरी नेपाल, बांग्लादेश लगायतका मुलुकबाट काम गर्न गएका कामदारबाट भर्ती शुल्कका नाममा एजेन्टहरूले रकम असुल्ने गरेको र नियम विपरीत रकम असुलेपछि मात्र कामदारलाई टप ग्लोभमा रोजगारी दिने अवस्था बनाइएको भन्दै उक्त कम्पनी माथि आयात प्रतिबन्ध लागेको बताएका छन्।
टप ग्लोभ माथि अमेरिकाले प्रतिबन्ध लगाए लगत्तै मलेशियाको शेयर बजारमा उक्त कम्पनीको मूल्य ह्वात्तै घटेको छ।
टप ग्लोभ कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना उत्पादन माथि अमेरिकाको भन्सार तथा सीमा सुरक्षा कार्यालयले लगाएको प्रतिबन्धबारे अझ प्रस्टसँग बुझ्न कार्यालयलाई सम्पर्क गरिरहेको र यस घटनाको जतिसक्दो छिटो समाधान खोजिने बताएको छ।
कम्पनीले आफ्ना उत्पादनमाथि अमेरिकाले प्रतिबन्ध लगाउनुको कारण विदेशी कामदारसँग सम्बन्धी विषय हुन सक्ने सम्भावना रहेको जनाएको छ।
तर उसले विदेशी कामदारले तिर्नुपर्ने भर्ती शुल्कको समस्या यसअघि नै समाधान गरिसकेको दाबी गरेको छ।
टप ग्लोभले सन् २०१९ को जनवरीदेखि शून्य लागतमा भर्ती हुने व्यवस्था लागू भएपछि कामदारले तिर्नुपर्ने सबै शुल्क आफूले बेहोर्दै आएको बताएको छ । कम्पनीमा कुल १९ हजार कामदार कार्यरत छन्।
यो पनि पढ्नुहोस्-मलेशियामा नेपाली कामदारमाथि रोकिएन शोषण
यीमध्ये आठ हजारभन्दा बढी विदेशी कामदार कार्यरत कम्पनीमा झण्डै चार हजार नेपाली कामदार कार्यरत छन् । कोरोना महामारीपछि उक्त कम्पनीमा कार्यरत केही नेपाली कामदारहरु स्वदेश फर्किसकेका छन्।
टप ग्लोभबाट वार्षिक करीब ७८ अर्ब थान सर्जिकल पन्जा उत्पादन हुने गरेको छ । टप ग्लोभले उत्पादन गरेका पन्जाहरु अमेरिका, बेलायतसहित १९५ मुलुकहरुमा निर्यात हुँदै आएको छ।
विश्वमा खपत हुने ६० प्रतिशत सर्जिकल पन्जा मलेशियाका कम्पनीहरूले उत्पादन गर्दै आइरहेका छन् । यसमध्ये सबैभन्दा धेरै टप ग्लोभ कम्पनीले उत्पादन गर्दै आइरहेको छ।
टप ग्लोभको मलेशियामा ४०, थाइल्याण्डमा चार र चीनमा एउटा फ्याक्ट्री छन् । अमेरिकाले यसअघि २४ असोज २०७६ मा मलेशिया पञ्जा उत्पादक कम्पनी डब्लूआरपी एशिया प्यासिफिक एसडीएन बीएचडीमाथि पन्जा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
कम्पनीले कामदारलाई जबर्जस्ती काममा खटाउने गरेको, कम वा तलब नै नदिई काममा लगाएको र शारीरिक तथा यौन शोषण गरेको खुलेपछि अमेरिकाले पञ्जा आयातमा प्रतिबन्ध लगाएको थियो।
यो पनि पढ्नुहोस्-मलेशियाको डब्लूआरपी कम्पनीले पञ्जा उत्पादन रोक्यो, करीब पाँच सय नेपालीको भविष्य अनिश्चित