‘अयोध्याबारे प्रधानमन्त्रीको भनाइपछि खोजीमा लागेका छौं'
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका दिन बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धार्मिक ग्रन्थ 'रामायण' को सेरोफेरोमा अभिव्यक्ति दिए । त्यसमा पनि रामको जन्मभूमि अयोध्या नेपालकै वीरगञ्जदेखि पश्चिममा पर्ने प्रधानमन्त्रीको दाबीपछि यसबारे निकै चर्चा र बहस भइरहेको छ।
पर्साको ठोरी गाउँपालिकाका साथै चितवनको माडी नगरपालिकामा पनि रामसँग जोडिएका केही ठाउँ छन् । यसै सन्दर्भमा माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालसँग गरिएको संक्षिप्त कुराकानी उनकै शब्दमा:
माडी नगरपालिका वडा नम्बर ९ मा ‘सीता–राम’ गुफा छ । वडा नम्बर १ मा वाल्मीकि आश्रम छ । पहिला अयोध्यापुरी गाविस थियो, त्यो अयोध्या भन्ने ठाउँमा पुरीहरु बसेपछि अयोध्यापुरी भनिएको हो भन्ने भनाइ छ । त्यसैले त्यही ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ भनेर निर्वाचित भएर आएदेखि लागिरहेका छौं । प्रधानमन्त्रीज्यूले पनि भनेपछि थप अध्ययन र वास्तविक तथ्य खोज्नतिर लागेको छु।
वाल्मीकि आश्रम पनि छ भनेपछि यहाँ केही न केही छ भन्ने हाम्रो पनि विश्वास हो, प्रधानमन्त्रीले बोलेपछि थप बल पुगेको छ र तथ्य खोज्ने पहल गर्नेछौं । धार्मिक तथ्य के हो त भन्ने बारेमा हामी केही न केही सार्वजनिक गर्छौं ।
आज (बिहीबार) पनि केही धार्मिक अगुवा, पण्डितहरुसँग छलफल गरेको छु । यहाँ छलफल गरेर केही नयाँ कुरा लिएर प्रधानमन्त्रीज्यूसँग भेट्न काठमाडौं जानेछौं।