साझा यातायातले उपत्यकामा शुरु गर्यो सेवा (तस्वीरहरु)
साझा यातायातले आजदेखि काठमाडौं उपत्यकामा बस सेवा शुरु गरेको छ । सरकारले तोकेको सुरक्षा मापदण्डको पालना गर्दै साझाले २६ वटा बसबाट सेवा शुरु गरेको हो।
साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेयले विभिन्न रुटमा २६ वटा बस सञ्चालनमा ल्याएको बताए । उनले भने, "स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिंदै सरकारले तोकेको मापदण्ड अनुसार हामीले पहिले अनुमति पाएकै आठ वटा रुटमा सेवा शुरु गरेका छौं।"
यात्रुको चाप बढेमा आवश्यकता अनुसार बस संख्या थप्दै जाने पाण्डेयले बताए । साझाले लगनखेलबाट नयाँ बसपार्कका साथै सूर्यविनायक, थानकोट, लुभु लामाटार, बुङमती, बालाजु लगायत रुटमा बस सेवा सञ्चालनमा ल्याएको हो।
यात्रु सुरक्षालाई ध्यानमा राख्दै कुल सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर सञ्चालनमा ल्याएकाले साझाले सरकारले तोके अनुसार ५० प्रतिशत बढी भाडा लिएर सेवा शुरु गरेको जनाएको छ।
बस सञ्चालनमा ल्याउनुअघि पूरै निस्संक्रमित पारिएको छ भने चालक र सहचालकले मास्क, फेससिल्ड, पन्जा लगाएका छन् । साझाले यात्रुहरुलाई अनिवार्य मास्क लगाउन, स्यानिटाइजर बोक्न, व्यक्तिगत दूरी कायम गरेर बस्न र भाडाको लागि खुद्रा पैसा बोक्न आग्रह गरेको छ।
सरकारले सुरक्षा मापदण्ड अपनाएर छोटो दूरीमा सार्वजनिक यातायात चलाउन दिने निर्णय गरे अनुसार यो सातादेखि उपत्यकामा महानगर, मयुर, सुन्दर यातायात लगायत कम्पनीहरुले बस चलाउन थालेका छन्।