चार्टर्ड बन्द गरेर नियमित उडान खुलाउन व्यवसायीकाे आग्रह
व्यावसायिक चार्टर्ड उडान नियमित हुन थालेकाले अब सुरक्षात्मक उपाय अपनाएर नियमित तालिका अनुसारकै आन्तरिक र बाह्य हवाई उडान खुला गर्दै पर्यटन क्षेत्र चलायमान बनाउनुपर्ने माग व्यवसायीको छ।
पर्यटन व्यवसायीले व्यावसायिक चार्टर्ड उडान बन्द गरेर नियमित हवाई उडान शुरु गर्न सरकारसमक्ष माग गरेका छन्।
सरकारले बन्दाबन्दीपछि समस्यामा परेका करीब २८ हजार नेपाली नागरिकलाई विभिन्न देशबाट चार्टर्ड उडानको बहानामा महँगो शुल्क मार्फत नेपाल फर्काएको छ । समस्यामा परेका र चार्टर्ड उडानमा आउन नसक्ने नेपालीहरु अहिले पनि समस्यामै रहेकाले पर्यटन व्यवसाय सञ्चालन गर्न समेत सुरक्षात्मक उपाय अपनाएर नियमित उडान खुलाउन पर्यटन व्यवसायीले माग गरेका हुन्।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा)का अध्यक्ष अच्युत गुरागाई १७ साउन २०७७ देखि आन्तरिक र ३१ साउनदेखि अन्तर्राष्ट्रिय तर्फको नियमित उडान खुलाउन सरकारसँग आव्हान गरिएको बताउँछन् । उनी भन्छन्, ‘‘हवाई उडान खुलेपछि पर्यटन क्षेत्र खुल्छ । त्यसपछि विस्तारै व्यापार व्यवसाय सामान्य हुँदै जाने भएकाले पनि अब नियमित हवाई उडान खुलाउनुपर्ने गुरागाई बताउँछन्।
गुरागाईका अनुसार पहिले आन्तरिक उडान खुला गर्ने र त्यसको १५ दिनपछि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्न सकिने विषयमा सरकारसँग व्यवसायीले माग गरेका हुन् । हवाई उडान खुलाउने र सुरक्षात्मक उपाय अवलम्बन गरेर समग्र पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्ने छ।
पर्यटन व्यवसायलाई सरकारद्वारा जारी सेफ्टी प्रोटोकल अनुसार शुरु गर्दै नियमित समय तालिका बमोजिम आन्तरिक तथा बाह्य हवाई सेवा सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने भएका छन् । यसका लागि विभिन्न पर्यटन संस्थाले बिहीबार दिउँसो राजधानीमा संयुक्त पत्रकार सम्मेलन नै आयोजना गर्दै छन्।
नियमित उडान नखुल्दा वायुसेवा कम्पनीले दिने सीमित व्यावसायिक कम्पनीले फाइदा असुलेका छन् , जसका कारण विदेशमा रहेका र समस्यामा परेका भनिएका नेपाली मजदुरले महँगो शुल्क तिर्नुपरेको सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष मधुसूदन उपाध्याय बताउँछन्।
उपाध्याय भन्छन्, ‘‘सरकारले व्यावसायिक चार्टर फ्लाइट धेरै गरायो र रकम पनि महँगो असुल गर्ने काम गरिरह्यो ।’’ उपाध्याय भन्छन्, चार्टर्ड उडान त निश्चित अवधि तथा विशेष समयका लागि मात्रै हुनुपर्नेमा निश्चित एजेन्टलाई मात्रै व्यवसाय दिने गरी नियमित चार्टर्ड उडान गरेको छ।
सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि ३२ जेठदेखि दैनिक चार्टर उडानको अनुमति दिइरहेको छ । सरकारले ३२ जेठदेखि ३० असारसम्मलाई पहिलो चरणको उद्धार उडान गर्न दिएको छ । त्यसपछि नयाँ उडान तालिका सार्वजनिक गर्न लगाएर फेरि ३१ असारदेखि ६ साउन २०७७ सम्मका लागि दोस्रो चरणको उद्धार उडानको समय दिइएको छ।
हालसम्म भएको यस्तो उद्धार उडानमा नेपाल वायुसेवा निगमले १० हजार ९१२ जनाको उद्धार उडान गरेको छ भने बाँकी हिमालय एयरलाइन्स र अरु विदेशी वायुसेवाले गरेका छन्।
चार्टर्ड उडनको दोस्रो चरण ३१ असारबाट शुरु भएको छ । दोस्रो चरणको पहिलो दिनमै १३ वटा उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । यस्तै आन्तरिक तर्फ पनि १० वटा उडान भएको छ । १ साउनका लागि पनि ९ वटा अन्तर्राष्ट्रिय उडान तय भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
सोट्टो नेपालका अध्यक्ष उपाध्याय आन्तरिक उडान खुला गर्ने र एक दुई सेक्टर गर्दै उडान तालिका बढाउँदै जान सकिने बताउँछन। उपाध्यायका अनुसार सरकारलाई एकैपटक सबै उडान ह्वारह्वार्ती गराउनुर्छ भनेको होइन।
सुरक्षात्मक उपाय अवलम्बन गर्दै विस्तारै उडान तालिका बढाउने भन्ने हो । अहिले भइरहेको चार्टर्ड उडानमा पनि सोही गन्तव्यको लागि सातामा एक\दुई उडान गर्ने गरी नियमित तालिकामा नै जहाज उडाउनुपर्ने माग पर्यटन व्यवसायीले राखेको उपाध्याय बताउँछन्।
आन्तरिक उडानको वायुसेवा कम्पनी बुद्ध एयरले भने नियमित कोभिड १९ पछि हुने उडान पूर्वको अभ्यास पनि गरिरहेको छ ।
वायुसेवा सञ्चालक संघका सदस्य तथा सिम्रिक एयरका बजार निर्देशक प्रज्ज्वल थापा संक्रमण घट्दै गएको र अब व्यवसाय पनि बचाउनुपर्ने भएकोले हवाई खुला गर्नुपर्ने बताउँछन्, थापा भन्छन्, ‘‘सबै वायुसेवा कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको उड्डयन सुरक्षा मापदण्ड अनुसार जहाज चलाउन तयारी अवस्थामा बसेका छन्।’’
सरकारकाे अनुमति पछि सबै आन्तरिक वायुसेवाले सुरक्षात्मक उपाय अवलम्बन गरेर उडान गर्ने विषयमा आवश्यक तालिम कर्मचारीलाई दिइरहेको थापाले बताए । अब पर्यटन क्षेत्र खुला गर्न र विस्तारै सामान्य अवस्थामा जान पनि हवाईसहितको पर्यटन क्षेत्र खुला गर्नुपर्ने बुझाइ थापाको छ।