जनकपुरधामको नगरसभाविरुद्ध वडाध्यक्षहरू सर्वोच्च अदालतमा
जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा प्रक्रिया पूरा नगरी भएको भन्दै वडाध्यक्षहरूले खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।
उपमहानगरपालिकाका मेयर लालकिशोर साहले एकलौटी ढंगले प्रक्रिया पूरा नगरी नगरसभा गरेको भन्दै वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साह तथा वडा नं. ७ का वडाध्यक्ष जानकीराम साह र वडा ७ कै सदस्य रहेका नगर सदस्य नाजिर हुसैनले सर्वोच्च अदालतमा संयुक्त रुपमा मुद्दा दायर गरेका हुन् ।
नगरसभामा पेश गर्ने नीति तथा कार्यक्रम र आय-व्ययको विवरण आफूहरूलाई उपलब्ध गराउन माग गर्दा पनि मेयरले उपलब्ध नगराएको तथा सभा सदस्यहरूलाई कुनै सूचना नै नदिई नगरसभा गरेकाले कानूनी उपचार खोज्न बाध्य भएको वडा नं. ९ का अध्यक्ष परमेश्वर साहले हिमालखबरलाई जानकारी गराए । ८ असार राति भएको बोर्ड बैठकमा आफूहरूले नीति तथा कार्यक्रम हेर्न पाउनुपर्ने माग गरेको र त्यसमा आफ्ना राय समेट्न सुझाव दिएकोमा मेयरले अस्वीकार गरेको वडाध्यक्ष साहले गुनासो गरे ।
९ असारका लागि तय भएको नगरसभा बैठक केही सदस्यहरूको विरोधका कारण स्थगित भएको थियो। असन्तुष्ट सदस्यहरूले नगरसभामै माइन्यूट च्यातेर धर्नामा बसेका थिए।
त्यसपछि मेयर लालकिशोर साहले उक्त दिनको सभा स्थगित गरेर १० असारमा बैठक बस्ने निर्णय गरेका थिए। त्यसपछि १० असारमा सभा बसेर कार्यक्रमहरू पारित भएको जानकारी सदस्यहरूलाई गराइएको थियो । तर, असन्तुष्ट सदस्यहरूले उक्त बैठकबारे आफूहरूलाई प्रक्रियाअनुसार सूचना नदिइएको दावी गर्दै उक्त बैठकलाई खारेज गर्न अदालतमा माग गरेको उनीहरूका कानून व्यवसायी पंकज कर्णले बताए ।
“प्रक्रिया पूरा नगरिएको बैठक र त्यसका निर्णय अन्तरिम आदेशबाटै खारेज गर्न माग गरिएको छ,” उनले भने ।
नगरपालिकाका एक जना कर्मचारीले एकलौटी रुपमा निर्णय गर्ने मेयर लालकिशोर साहको स्वभावका कारण अधिकांश सभा सदस्य असन्तुष्ट रहेको बताए । “यसअघिका सभाहरूमा पनि नीति तथा कार्यक्रम र बजेटबारे अरु सदस्यलाई केही जानकारी हुँदैनथ्यो,” ती कर्मचारीले भने, “यसपटक मात्रै सदस्यहरूले आफूहरूको अधिकार बमोजिम जानकारी मागेका थिए, मेयर पारदर्शी बन्न नचाहँदा समस्या आएको हो ।”
दुवै पक्षले आफूहरूसँग नगरसभाको बहुमत रहेको दावी गरेका छन् । १३१ सदस्यीय नगरसभामा ७८ जनाले आफूहरू उपस्थित नभएको लिखित जानकारी गराएको वडा ७ का अध्यक्ष साहले दावी गरे भने १० असारमा भएको भनिएको सभा बैठकमा ८० जना सदस्यको हस्ताक्षर रहेको नगरपालिकाका एक जना कर्मचारीले बताए ।
नगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले विभिन्न योजना र बजेटबारे रहेका विवादले उग्र रुप लिएको बताए । मेयर लालकिशोर साह टेलिफोन सम्पर्कमा आउन चाहेनन् ।