सागमा पदक विजेता खेलाडीलाई प्रदेश १ सरकारद्वारा सम्मान
प्रदेश १ ले तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ।
प्रदेश सरकारले गरेको घोषणा अनुरुप खेलाडीहरूलाई सम्मान गरेको छ । सागमा प्रदेश १ का ९८ जना खेलाडीले पदक प्राप्त गरेका थिए । कतिपय खेलाडी विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीलाई प्रदेश सरकारले पुरस्कारसहित सम्मान गरेको हो।
पदक प्राप्त खेलाडीहरुलाई ८० लाख नगद उनीहरूकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पदक विजेता खेलाडीहरूको ब्यांक खातामै नगद पुरस्कार जम्मा गरिदिएको हो।
खेलाडी सम्मान कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताए।
उनले भने “प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको छ । खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गरिएको छ।”
खेलाडीहरूलाई बधाई तथा शुभकामना दिंदै खेलाडीहरूले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको बताए । मन्त्री राईले खेलाडीहरूलाई व्यवसायिक ढंगबाट अगाडि बढ्न अनुरोध गर्दै प्रदेश सरकारले खेलाडीहरूबाट आशा, भरोसा राखेको बताए।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेशाको रुपमा लिनुपर्ने धारणा राखेका छन् । साग पदक विजेता खेलाडीहरूका कारण प्रदेश सरकार गौरवान्वित भएको बताए।
मन्त्री घिमिरेले खेलाडीहरूले खेलकुदलाई जीविकोपार्जनको माध्यम रुपमा लिएर अगाडि बढ्नुपर्ने र त्यसको लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताए।