निजी विद्यालयका अनलाइन कक्षा भोलिदेखि बन्द, शिक्षक र कर्मचारीलाई बेतलबी बिदा
निजी विद्यालयहरूले भोलिदेखि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलापहरू स्थगन गर्ने जनाएका छन्।
निजी विद्यालयका संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै शिक्षण क्रियाकलाप स्थगन गर्नुका साथै आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई बेतलबी घर बिदा दिने निर्णय गर्न बाध्य भएको उल्लेख गरेका छन्।
आम्दानी नहुँदा संस्थागत विद्यालयहरुमा कार्यरत करीब २ लाख ५० हजार शिक्षक कर्मचारीलाई वैशाख महीनादेखि तलब उपलब्ध गराउन नसकेका कारण बेतलबी घर बिदा दिन बाध्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
शिक्षक तथा कर्मचारीहरु भोकभोकै रहनुपर्ने अवस्था, विद्यालयको स्थायी प्रकृतिका खर्चहरु घरभाडा, ब्यांकको किस्ता तथा ब्याज, बीमा, टेलिफोन, बिजुली, इन्टरनेट इत्यादि खर्च धान्न नसक्ने गरी विद्यालयको आर्थिक अवस्था जर्जर रहेको र समस्याको समाधानार्थ नेपाल सरकारका सम्बन्धित निकायहरु समक्ष पटकपटक माग राखी निरन्तर छलफल, वार्ता संवाद गर्दा पनि कतैबाट कुनै किसिमको सहयोग प्राप्त गर्न नसकेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ।
विद्यालयहरुको अवस्था अवगत गराउन १४ असारमा मन्त्री समक्ष संयुक्त रुपमा ज्ञापनपत्र बुझाएर मागहरु सम्बोधन गर्न पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएका कारण सम्पूर्ण शिक्षण कार्यक्रम स्थगित गर्न बाध्य भएको जनाएको छ।
निजी क्षेत्रको योगदान र महत्वलाई वास्ता नगरी शिक्षा मन्त्रालयले ८ असारमा प्रेस विज्ञप्ति जारी गरेको उनीहरुको भनाइ छ।
८ असारमा मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले विज्ञप्ति जारी गर्दै "नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार सेवा र कार्यबाहेकका विद्यालय सम्बद्ध गतिविधि स्थगितको आदेश कायम रहेको अवस्थामा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ को विपरीत हुने क्रियाकलाप सञ्चालन नगर्न, नगराउन" निर्देशन दिएका थिए।
शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान विषम स्थितिमा निजी लगानीका विद्यालयले भोग्नुपरेका समस्याका बारेमा विधिसम्मत निरुपणका लागि सम्बन्धित पक्षसँग परामर्श जारी रहेकाले हाल कुनै शुल्क लिन नमिल्ने भनेको थियो।