आर्थिक वर्षको अन्तिम दिन नेप्से १५ अंकले बढ्यो
चालु आर्थिक वर्ष २०७६/७७ को अन्तिम दिन बुधबार शेयर बजार परिसूचक नेप्से १४.९ अंकले बढेको छ । यो सँगै नेप्से परिसूचक १ हजार ३६२ विन्दुमा पुगेको छ।
बुधबार होटल, उत्पादनमूलक र जीवन बीमा समूहबाहेक अरु सबै समूह सकारात्मक भएका छन् । सबैभन्दा धेरै ब्यांकिङ समूह २.१६ प्रतिशतले बढेको छ । एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९.९२ प्रतिशत नाफा कमाएका छन् ।
नबिल ब्यालेन्स फण्ड २ का लगानीकर्ताले ९.६३ प्रतिशत कमाए । यद्यपि, मिथिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.४५ प्रतिशत गुमाए।
बुधबार १८९ कम्पनीका रु. १ अर्ब १६ करोड मूल्यका ३२ लाख १२ हजार कित्ता शेयर किनबेच भएका छन्।
गत आर्थिक वर्ष २०७५/७६ को अन्तिम दिन नेप्से परिसूचक १ हजार २५९ विन्दुमा थियो । एक वर्ष अघिका तुलनामा नेप्से परिसूचकमा करीब १ सय अंकको सुधार देखिएको हो । आर्थिक वर्ष २०७४\७५ को अन्तिम दिन नेप्से परिसूचक १ हजार २१२ विन्दुमा थियो।